प्रमुख अतिथी विवादका कारण आलिताल महोत्सव सारियो

0
Shares

राम धामी, डडेल्धुरा ।स्थानीयस्तरमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो आलितालमा पहिलो पटक आयोजना हुने भनिएको महोत्सव सारिएको छ ।

पर्यटकीय सम्भावना बोकेको आलितालमा अगामी बैशाख ३ गतेदेखि ७ गतेसम्म ‘आलिताल पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव २०७६’ को आयोजना गर्न अन्तिम तयारी गरिरहेको आलिताल गाँउपालिकाले बिभिन्न कारण देखाउदै बिहीबार एकाएक महोत्सव सार्ने निर्णय गरेको हो ।

महोत्सव आयोजना गर्ने समयमा खेतीपातीको कामको चाँप बढ्ने भएको र तयारी पुग्न नसकिएकाले महोत्सव बैखाख २३ गतेदेखि २७ गतेसम्म आयोजना गर्नेगरि आलिताल महोत्सव सार्ने निर्णय गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । उहांले महोत्सवमा खेलकुद प्रतियोगितासमेत राखिएको तर सोही अवधीमा राष्ट्रिय खेलकुद प्रतियोगिता परेकाले महोत्सव सार्ने निर्णय गरिएको जानकारी दि नुभयो ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताललाई देश विदेशमा चिनाउने तथा यस क्षेत्रको आर्थिक उन्नतिमा विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको उद्घाटनका लागि प्रमुख अतिथी बोलाउने सम्बन्धमा गाँउ कार्यपालिकामा विवाद उत्पन्न भएपछि महोत्सव सारिएको श्रोतले दाबी गरेको छ ।

धार्मिक महत्व बोकेको रमणीय आलिताल क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यले पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको आयोजना गर्न लागिएकोले झिनामसिना बिषयमा विवाद गर्न नहुने गाँउपालिका अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

‘स्थानीय कला, संस्कृति, भेषभूषा र कृषि–पशुजन्य उत्पादनहरुको प्रवद्र्धन तथा प्रचारप्रचार गर्ने र युवाहरुमा रहेको खेल सम्बन्धी प्रतिभाहरुलाई प्रवद्र्धन र विकास गर्ने हाम्रो उदेश्य हो ।’ उहांले भन्नुभयो ‘केहि दिन ढिलो भए पनि आलिताल महोत्सव भब्यरुपमा सम्पन्न गर्ने योजनामा छौ ।’
डोटेली राज्यको राजधानीका रूपमा चिनिने ऐतिहासिक अजयमेरुकोटमा अजयमेरु गाँउपालिकाले आयोजना गरिरहेको अजयमेरु महोत्सव भने निर्धारित समयमै हुने भएको छ । ‘कृषि पर्यटन कला संस्कृति र खेलकुदको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सवमार्फत गाउँपालिकाको पहिचान’ भन्ने नाराका अगामी बैशाख ४ देखि ८ गतेसम्म अजयमेरु महोत्सव आयोजना भईरहेको छ ।

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटकीय सम्भावनाका बोकेका पर्यटकीय स्थलहरुको संरक्षण सम्वद्र्धनका लागि महोत्सवको तयारी भईरहेको जानकारी दिए ।