एकलाखको औषधिसहित दुइ पक्राउ

0
Shares

भद्रपुर(नेस)
सशस्त्र प्रहरीले करिब एक लाख रकम मूल्य बराबरको एलोपेथिक औषधिसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दीबारी गाउँपालिका ४ का ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका ५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका निरिक्षक मानबहादुर कटुवालले जानकारी दिए ।

औषधि लिएर मे १० प १३३९ नम्बरको मोटरसाइकलमा दुवै जना भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३ बगानस्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर १२२ बाट सय मिटर उत्तरतर्फ सवारीसाधन चेकजाँचको क्रममा औषधिसहित पक्राउ गरिएको कटवालले जनाए । उनीहरूको साथबाट ५ सय फाइल अर्थात् १५ हजार क्याप्सुल ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधि फेला परेको उनको भनाइ छ । औषधि व्यवस्था विभागले ती नामका औषधि प्रतिबन्धित रहेको जानकारी दिएको उनले जनाए । बरामद गरिएको औषधिसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा बुझाइसकेको उनले बताए ।

पछिल्लो समय नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका औषधि दक्षिणी झापाका सीमावर्ती नाकाबाट कारोबारीले भित्राउन थालेका छन् । एकहप्ता अघि नेपाल प्रहरीले करिब २२ लाख रुपैयाँ मूल्य बराबरको यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधिसहित चार जनालाई पक्राउ गरेको थियो । उनिहरुसँगै औषधि बोक्न प्रयोग गरिएको मे१च ४०६३ नम्बरको मारुती भ्यान सहित मे६प १०१६ नम्बरको र भारतीय वीआर ३७ जी १४४० को मोटरसाइकल समेत बरामद गरेको थियो ।