मन्त्रीले नै लगाए सचिवको कार्यकक्षमा ताला

0
Shares

हेटौंडा, (नेस)
सचिवले ‘काम नगरेको र गर्न नदिएको’ आरोप लगाउँदै प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद्) ले सचिवको कार्यकक्षमा ताला लगाउनुभएको छ । मन्त्री दुलाल आफैंले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाउनुभएको हो ।

उहाँले सचिवले फाइलहरु पेण्डिङमा राखेको, कामै नगरेको र अगाडिको मितिमा फाइल स्वीकृत गर्ने सम्भावना देखिएकोले आफूले फाइलहरु लक गर्ने उद्धेश्यले ताला लगाएको बताउनुभयो ।

यसअघि लिखित स्पष्टीकरण सोधिए पनि काम कारबाही अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा तालाबन्द गरिएको मन्त्री दुलालले दाबी गर्नुभयो । उहाँका अनुसार सचिवलाई किन काम नगरेको भनी स्पष्टीकरण सोधिएको थियो । उहाँ त्यसको उचित जवाफ नदिएर काठमाडौं गएको मन्त्रालयस्रोतले बताएको छ । सचिव पौडेलको कार्यकक्षमा ताला लगाइएपछि मन्त्री र सचिवबीच विवाद सार्वजनिक भएको छ ।

फाइलहरु थन्काएर सचिवले काम नगरेपछि उहाँमाथि स्पष्टीकरण सोधेर अघिल्लो मितिमा फाइल सही नगरुन् भन्ने अभिप्रायले ताला लगाइएको मन्त्री दुलालले स्पष्ट पार्नुभयो । ‘टेबुलमा आफूभन्दा अग्लो बनाएर फाइल थन्काउने काम भएका छन्,’ मन्त्री दुलालको आरोप छ ।

मन्त्रालयमा हाजिर भएदेखि फाइलउपर निर्णय नगर्ने, मन्त्रालयका आफ्नामातहत कर्मचारीलाइ हप्कीदप्की गरी अमर्यादित व्यबहार प्रदर्शन गर्ने र कर्मचारी निरुत्साहित भएर काममा आउने वातावरण नभएकाले कर्मचारी र मन्त्रालयको हितका लागि सचिवको कार्यकक्षमा तालाबन्दी गरिएको मन्त्री दुलालले स्पष्ट पार्नुभयो ।

सचिवमा पौडेल आएपछि उहाँका कारण कुनै काम अगाडि नबढेको कर्मचारीले गुनासो गरेका छन् । सचिवले कामसम्पादन नगरेको उनीहरुको आरोप छ । सचिव पौडेल १० दिनको घरबिदा स्वीकृत गरी काठमाडौं गएको बताइएको छ । उहाँसँग सम्पर्क हुन सकेन ।