नयाँ शहर योजनाको काम अलपत्र

0
Shares

विनोद सिंह विष्ट, बैतडी
पछिल्लो समयमा बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना अलपत्र पर्दै गएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनलाई नयाँ शहरमा घोषणा गरेको पाँच बर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको नयाँ शहर आयोजनाले गति लिन सकेको छैन् ।

देश संघीयतामा गएपछि पाटन नयाँ शहर आयोजनालाई शुरुमा प्रदेश सरकार मातहत ल्याएपनि अहिले फेरी संघीय सरकारको मातहत ल्याइएको छ ।
नयाँ शहर आयोजना अन्तर्गतका विभिन्न कामहरुमा सुस्तता आएको पाटन नयाँ शहर आयोजना कार्यान्वयन कार्यालय बैतडीले जनाएको छ । अहिले आयोजनाका प्रमुख धनगढी बस्नुपरेको र स्थानीस्तरमा रहेका विभिन्न समस्याहरुले पनि कामको गति अघि बढ्न नसकेको पाटन नयाँ शहर आयोजना कार्यान्वयन कार्यालयका सब इन्जिनियर महेशप्रसाद जोशीले जानकारी दिए । पाटनमा २.३ किलोमिटरको चक्रपथ निर्माणको काम, नगर विकास भवन, बसपार्क निर्माण लगायतका कामहरु जारी रहेको छ ।

यस्तै पाटन नगरपालिकाको वडा नं ८ खोड्पेमा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गर्ने भनिएपनि काम अघि बढाउन सकिएको छ । ल्याण्डफिल साइड अर्थात डम्पिङसाइड बनाउने ठाउँ सम्मको सडक निर्माण कार्य पनि पूरा हुन सकेको छैन् । कडा चट्टान लागेका कारण सडक निर्माण ढिलाई भईरहेको निर्माण व्यवसायीले बताउने गरेको सबइन्जिनियर जोशीको भनाई छ ।यसका साथै ल्याण्डपोलिङको काम समेत अघि बढ्न सकेको छैन् ।

ढिलागरी पुर्वाधार निर्माण कार्य सुरु भएको पाटनमा निर्माणको गति पनि सुस्त भएको भन्दै स्थानियले समयमै लक्ष्य प्राप्ती हुनेमा शंका व्यक्त गरेका छन् ।
पाटनलाई सरकारले नयाँ शहर बनाउने घोषणा गरेपनि काम भने सुस्त गतिमा भैईरहेकोले जुन उद्देश्यले घोषणा गरियो त्यो अनुसार काम नभएको हो ।

पाटन नयाँ शहर आयोजानको काम अघि बढाउनका लागि संघीय सरकारले पहल चाल्नुपर्ने पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टको भनाई छ । पाटन नयाँ शहर आयोजनाको काम अघि बढाउनका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्ने स्थानीय लक्ष्मीदत्त पाण्डेयले बताए । पाटन नयाँ शहर आयोजना अन्तर्गत चालु आर्थिक बर्षमा ९ करोड बजेट आएको भएपनि खासै खर्च भने हुन सकेको छैन् ।

पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भएपनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन् । २ लाख जनसंख्या बसाउने र भौतिक पूर्वाधार विकासमा पहुँच पुर्याउने सरकारको लक्ष्य रहे पनि नयाँ शहरको काम अघि बढ्न सकेको छैन् ।

नमूना शहर निर्माणको कामले गति लिन नसक्दा स्थानीयबासिन्दा निराश भएको पाटन नगरविकास समितिका पूर्व अध्यक्ष जंगबीर बिष्टले बताए । पाटन नयाँ शहर आयोजना कार्यन्वयन कार्यालयले कामहरु सन्तोषजनक नभएको भन्दै स्थानियले पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै आएका छन् ।

सरकारले २०६८ सालमा देशका दशओटा नमूना शहरमध्ये बैतडीको पाटनलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पाटनलाई आगामी २०८८ सालभित्र नयाँ शहरको रुपमा विकास गरिसक्ने लक्ष्य राखिएको छ ।