सुदूरपश्चिम प्रदेशमा ६ हजार ७२४ जनामा एचआईभी

0
Shares

विमल विष्ट, डोटी
पछिल्लो समय डोटी जिल्लामा पछिल्लो समय सयौँको सँख्यामा एचआईभी सँक्रमितहरु रहेको पाईएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्यांङ्क अनुसार पुरै जिल्ला भरीमा खुलेका मात्रै (पहिचान भएका) ९ सय ८० जनामा एचआईभीको संक्रमण रहेको पाईएको छ । जस मध्ये ५० जना बालबालिका मात्रै रहेका छन् ।

यो संख्या जिल्ला अस्पतालमा औषधी उपचार गराउन आउनेहरुको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर भुषण मिश्रले बताउनुभयो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो संख्यामा बृद्धि हुन सक्ने उहाँले अनुमान गर्नु भएको छ । जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरले दिएको जानकारी अनुसार डोटीमा एचआईभी संक्रमितहरुको संख्या ९८० रहेको छ ।

एचआइभी संक्रमितमित मध्ये अधिकाँस महिला र बालबालिका रहेका छन् । जसमा महिलाहरुको संख्या ५७० रहेको छ,भने ३६० जना पूरुष रहेकाछन् । जसमा ५० जना मात्रै बालबालिका रहेका छन् । समाजको अपहेलितका कारण यहाँका एचआईभी संक्रमित महिलाहरु खासै खुलेर भन्न नसक्ने तथा उपचार गराउन नआउने गरेका कारण जिल्लामा एचआईभी संक्रमण बढी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

डोटीमा मात्र एचआईभी सँक्रमीतको संख्या ९८०

जिल्ला अस्पतालमा एचआइभी संक्रमितकालागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तिमापनि ५१८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०÷१५ वर्ष अगाडिदेखि पनि एचआईभी संक्रमितहरु जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् । जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी संक्रमितहरु चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान डाक्टर मिश्रको छ ।

जिल्लामा एचआईभीको रोकथामकालागि बिभिन्न सँघ सँस्थाले काम गरीरहेपनि यहाँको एचआईभी रोकथाम गर्नसकिएको छैन् । डोटीमा एचआईभी एड्सका कारण हाल सम्म कतिजनाले ज्यान गुमाए भन्ने बिषयमा यकिन तत्थ्याङ्क कुनैपनि सँघ सँस्थामा नभएपनि हाल सम्म कम्तिमापनि १०० जना भन्दाबढीले ज्यान गुमाई सकेको हुन सक्ने एचआईभीको क्षेत्रमा काम गर्ने सँस्थाहरुको अनुमान रहेको छ ।

कामकालागि भारत गएका श्रीमानले त्यहाँ गर्ने अशुरक्षित यौन सम्पर्कबाट आफूलाई पनि एचाईभीको संक्रमणमा पार्ने र पछि घरमाआई श्रीमतीलाई सार्ने गरेको एचआईभीको क्षेत्रमा कामगर्ने सँस्थाहरुको भनाई छ । एचआईभी पिडित भएका यहाँका महिलाहरुले समाजको भेदभावको समेत सामना गर्नु परिरहेको एचआईभीको क्षेत्रमा कामगर्ने सँस्था सिडिएफका शिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमानको गल्तिले सरेको रोगको सामना श्रीमतीले गर्नु परेको छ ।” एचआईभी संक्रमित भई भारतबाट घर फर्केकाहरु समेत उपचारपछि पुनः काम गर्न भारत जाने क्रम समेत बढेको छ । केही एचआईभी संक्रमित एकल महिलाहरु विभिन्न सँस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन्, भने कोही समाजको डरले गाउँघरमै बसि रोग लुकाउन बाध्य भएका छन् ।

समग्र सुदूरपश्चिम प्रदेशमा ६ हजार ७२४ जनामा एचआईभी सँक्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म सुदूरपश्चिम भरीमा ३ हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् ।

‘आर्थिक वर्ष २०७४÷०७५ सम्मको तथ्यांङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआईभी÷एड्सका कारण ज्यान गुमाई सकेका छन’, जनस्वास्थ्य अधिकृत मलासीले भन्नुभयो, “यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ संक्रमित देखिएका छन्,बर्षेनी एचआईभी रोगीहरु बढीरहेका छन् ।” सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एचआईभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ ।

स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआईभी संक्रमितहरुलाई सहयोग गर्न नसकेको संक्रमितहरुले गुनासो गरेका छन् । एचआईभी संक्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआईभी संक्रमितको संख्या बढ्दो भएपनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाउनुभयो । स्थानीय सरकारसँग हामीले प्रस्ताब लिएर जादा तपाईहरु त डलरको खेती गर्न सक्ने हामी के सहयोग गर्न सक्छौ भनेर उल्टै जवाफ दिने गरेको समेत उहाँले बताउनुभयो ।

“हामी त संक्रमीत भईसकेका छौ अब हाम्रोलागि नभएपनि हाम्रा छोरा छोरीहरुको भविष्यकोलागि भएपनि स्थानीय सरकारले सोच्नुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले सक्रमीत बचाउनकोलागि विशेष कार्यक्रम बनाउनु पर्छ ।” यतिमात्र नभई डोटीमा कतिपय एचआईभी संक्रमित एकल महिलाहरुलाई आफू र बालबच्चा कसरी हुर्काउने भनेर चिन्तित हुने गरेको बताउछन् । यहाँका एचआईभी संक्रमित महिलाहरुलाई साँझ बिहान हातमुख जोड्न धौँ–धौँ परेको छ ।