छिटै नआउने भो एसइईको परीक्षाफल !

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।

२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?

कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ अवधीभर कुनै पनि जिल्ला शिक्षा समन्वय कार्यालयका कर्मचारीलाई समायोजनमा परेको जिल्ला नजान आग्रह गरेको थियो ।
अब परीक्षा सकिएको छ, समन्वयमा परेका कर्मचारी संघ र प्रदेशमा जान थालिसकेका छन् । समायोजनमा परेका कर्मचारी २१ दिनभित्र समायोजनमा परेका निकायमा जानुपर्ने व्यवस्था छ ।

यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारले गरेको थियो । तर उत्तरपुस्तिका संकलन, परीक्षण, डिकोडिङ लगायत परीक्षाफल प्रकाशित गर्नुअघिका परीक्षाको सम्पुर्ण व्यवस्थापन जिल्ला शिक्षा समन्वय कार्यालयले गर्नेछ । ती कार्यालयमै कर्मचारीको अभाव देखिएको बोर्डले जनाएको छ ।

२६ जिल्लाका त समायोजनमा परेका छन्, अन्य जिल्लामा समेत कर्मचारी अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले भन्नुभयो ।
उहाले यही अवस्थामा समयमै परीक्षाफल प्रकाशन गर्न कठिन हुने बताउनुभयो । ‘यही अवस्था रहिरहे परीक्षाफल प्रकाशित हुने मिति पर सर्नेछ’–परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो । गत वर्ष असार ११ मा प्रकाशित भएको परीक्षा करिब एक महिनापछि सर्न सक्ने आंकलन गरीएको छ ।

-कर्मचारी नहुँदा बुझिएन उत्तरपुस्तिका, डिकोडिङ समेत भएन
-६५ जनामा २३ जना मात्र कार्यरत

बोर्डले देशभर ५९ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुदैन । उपत्यकाको काठमाडौमा ३ , ललितपुर र भक्तपुरमा १–१ गरी ५ परीक्षण केन्द्रमा परीक्षण गरिदैन ।

पनिकाले हाल समन्वय इकाइमार्फत परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने व्यवस्था गरेको छ । प्रश्नपत्र आउट भएको प्रदेश २ मा हिजो साधारणतर्फको परीक्षा सकिएको छ ।

२९ गतेसम्म प्रविधिक विषयमा परीक्षा हुनेछ । प्रदेश २ बाहेक अन्य केन्द्रमा उत्तरपुस्तिका लैजाने तयारी भैरहेको छ । उत्तरपुस्तिका केन्द्रमा पुग्नुअघि डिकोडिङ गरिन्छ । कर्मचारी नहुँदा हालसम डिकोडिङ हुन सकेको छ । बोर्ड र पनिकाले मन्त्रालयलाई परीक्षाफल प्रकाशित गर्नु अघि कर्मचारी व्यवस्थापन गर्न आग्रह गरिसकेको छ । कर्मचारी अभाव भएको विषयमा मन्त्रालयमा लिखित जानकारी गराइसकेका छौ, तर मन्त्रालयले हालसम्म कर्मचारी व्यवस्थापन गर्न सकेको छैन–बोर्डका अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।

करिब ६५ जना कर्मचारी रहेको पनिकामा हाल २३ जना कर्मचारी कार्यरत छन् । बोर्डबाट ७ जना कर्मचारी खटाइएको छ । परीक्षाफल प्रकाशित गर्नु अघि गोप्यमा रहने इन्जिनियरको समेत अभाव देखिएको छ । परीक्षा जस्तो सम्बेदनशिल विषयमा काम गर्ने इन्जिनियर समेत करारमा कार्यरत छन् ।
चैत १० गतेबाट संचालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।