प्रदेश–१ मा थपियो ४ दिन सार्वजनिक विदा

0
Shares

मोरङ । प्रदेश–१ सरकारले चार दिन थप सार्वजनिक विदा दिने भएको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा दिने निर्णय गरेको हो ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले २०७६ सालमा जनै पूणिर्मा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पूर्वमा सार्बजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेस गरेको प्रदेश पात्रो स्वीकृत गर्दै बृहत्तर विराट विकास क्षेत्र सम्बन्धकमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदमा पेस गर्न स्वीकृति पनि प्रदान गरेको छ ।

बैठकले प्रदेश सरकारको राजपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ । प्रदेश राजपत्रमा प्रदेश सरकार तथा स्थानीय तहरुको निर्णयहरु प्रकाशन गर्नेछ । राजपत्र प्रकाशनको काम तत्काल सुरु गर्ने मन्त्री कार्कीले जानकारी दिए । राजपत्र प्रकाशनका लागि सरकारले छुट्टै प्रेस स्थापना गरेको छ ।

त्यस्तै विपत व्यवस्थापन ऐन २०७५ संसोधन गर्न स्वीकृति प्रदान गरेको छ । गत वर्ष प्रदेशसभाबाट पास भएको ऐनमा भएको त्रुटिलाई सच्याउन संशोधन गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिए ।
त्यस्तै प्रदेश सरकारले विपद व्यवस्थापन कोष सञ्चालन कार्य्विधि र सामाजिक विकास संस्था नियमावली संसदमा पेस गर्न स्वीकृति गरेको प्रदेश सरकारका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।