प्रदेश नम्बर–३ मन्त्रिपरिषद् निर्णयः अनुदान स्वीकृत,प्रेस रजिष्टारमा सापकोटा


हेटौंडा, (नेस) ।
प्रदेश–३ को मन्त्रिपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवद्र्धनका लागि साना योजना कार्यक्रम अनुदानसम्बन्धि कार्यविधि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत् प्रेस रजिष्टारको नियुक्ति गरेको छ । प्रदेशअन्तर्गत् सबै मिडिया हेर्ने गरी प्रेस रजिष्टार नियुक्त गरिएको हो ।

प्रदेश–३ को प्रेस रजिष्टारमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकका पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो ।

२० वर्ष अघिदेखि पत्रकारिता पेशामा आवद्ध सापकोटाले पत्रकारितामा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । संघीय सरकारमातहतको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमातहतको प्रेस काउन्सिल जस्तै प्रदेशमा प्रेस रजिष्टारको कार्यालय रहने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहत कार्यालय सञ्चालन हुनेछ ।

बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यान्वयनसम्बन्धि कार्यविधि २०७५ स्वीकृत गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

बारा र पर्सामा हावाहुरीका कारण पीडित परिवारलाई यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नगद एक करोड प्रदेश–२ सरकारको खातामा जम्मा गर्ने निर्णय गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनसम्बन्धि प्रदेशस्तरीय कार्यविधि स्वीकृत गरिएको छ । प्रदेश जलचर संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री ढुंगेलले बताउनुभयो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।