माग नै हुदैन विपद जोखिम न्यूनिकरणका योजना

0
Shares

डोटी (नेस)
जिल्लामा विपद जोखिम न्यूनिकरणका योजनाहरु मागै नहुने गरेको एक कार्यक्रका सहभागीहरुले बताएका छन् ।

पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले आफु निर्वाचित भएर आएदेखी हाल सम्म कसैलेपनि विपद जोखिम न्यूनिकरणका योजनाहरु माग नगरेको बताउनुभयो । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले आज पूर्वीचौकी गाउँपालिकामा जनप्रतिनिधी र सरोकारवालासँग गरेको सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले सो कुरा बताउनु भएको हो ।

“माग गरिएका योजना प्राथमिकिकरणका आधारमा छनौट गर्नुपर्ने हुँदा मागै नभएका योजना बनाउन गाह्रो छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन र कार्यविधी पास गरिसकेको छ, योजना चाहियो ।” उक्त गाउँपालिकामा विपदका हिसाबले संङ्कटासन्न क्षेत्र पहिचान गरी जिल्ला विपद व्यवस्थापन समितिमा जानकारी गराईएको, विपद व्यवस्थापनको लागि करिब १५ लाखको कोष स्थापना भएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

वस्ती स्तरबाटै विपद् जोखिम न्यूनिकरण सम्बन्धी योजना माग भएर आएमा निश्चित योजना बनाएर लागु गरिने पूर्वचौकी गाउँपालिका उपाध्यक्ष एवं योजना तर्जुमा समितिकी अध्यक्ष निर्मला साउँदले बताउनुभयो । गाउँपालिकाका जनप्रतिनीधीहरु, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले परियोजना अन्तरगत भइरहेका कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो ।

सिडिसिले सञ्चालन गरिरहेको नेपाल विपद जोखिम न्यूनिकरण परियोजना फेबु्रअरी २०१८ देखि सेप्टेम्बर २०१९ का लागि डोटीको दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकामा सञ्चालन भइरहेको छ ।