ऐतिहासिक धुँवाउने ठाँटी संरक्षणको पर्खाईमा

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङको सामाजिक, शैक्षिक एवम् राजनीतिक जागरणको ऐतिहासिक थलो सुन्दरबजार नगरपालिका– ३ स्थित दुराडाँडाको मुटुमा रहेको पुरातात्विक महत्वको धुँवाउने ठाँटी संरक्षणको पर्खाईमा रहेको छ । २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको उक्त ठाँटी कुनै पनि बेला ठल्ने अवस्थामा पुगेको छ र पनि त्यसको संरक्षणतर्फ कसैले पनि ध्यान नदिनु आश्चर्य भएको स्थानीयले गुनासो गरेका छन् ।

एक जमाना थियो, उक्त ठाँटीमा लामो यात्रा काठमाडौ, चितवन वा पोखरा लगायतका स्थानमा हिडेका बटुवाहरूले खाना पकाएर खान्थे र रातमा बास बस्थे । दुई तला रहेको उक्त ठाँटीको भूँइ तला बटुवाहरूले उपयोग गर्दथे भने माथिल्लो तलामा प्रजातन्त्रको पुनःस्थापना लगत्तैदेखि करिब डेढ दशकसम्म पुस्तकालय समेत सञ्चालनमा रहेको स्थानीय निवृत्त शिक्षक ७९ वर्षीय पं. युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार सो ठाँटी कति सालमा बनेको हो भन्ने आफूलाई जानकारी छैन तर त्यसको तला छाप्नमा प्रयोग भएका काठका फ्याकमा कुदिएका मुर्ति निकै आकर्षक थिए संरक्षणको पर्खाईमा धेरै चोरी भइसकेका छन् । उहाँले भन्नुभयो, ‘यो ठाँटी कम्तिमा एक सय वर्ष अघि बनाइएको हुनुपर्छ ।’

त्यो बेलामा उक्त ठाँटीमा प्रभात पुस्तकालय सञ्चालनमा विशेष योगदान गर्नु भएका तत्कालीन नेतृत्वकर्ता ७९ वर्षीय अर्का व्यक्तित्व बुद्धिमान श्रेष्ठ(हाल पोखरा)ले पुरस्तकालयमा करिब २२ सय पुस्तकहरू थिए । त्यसको रेकर्ड राख्ने सहितका कामलाई आफूले व्यवस्थित गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार त्यो कार्यमा आफूलाई निर्देशन गर्ने नेपाली काँग्रेसका तत्कालीन नेता श्रीकान्त अधिकारी हुनुहुन्थ्यो । त्यसैगरी, सहयोग गर्ने विशेष गरी तीन जनामा उदयनाथ अधिकारी, दुई छात्रा साथीहरू दीपा बुढाथोकी हाल भारत र इन्दिरा पौडेल भएको श्रेष्ठले बताउनु भयो ।

बरबोटमा रहेको भारतीय पुस्तकालय र प्रभात पुस्तकालयलाई गाभेर प्रभातरीय पुस्तकालयका नाउँमा पनि केही वर्ष पुस्तकालय चलेको श्रेष्ठले स्मरण सुनाउनु भयो । उहाँका अनुसार पछि पञ्चायतकाल सुरु भयो उक्त पुस्तकालयको रेखदेख गर्नेहरू दायाँबायाँ लागे र छिन्न भिन्न भयो ।

जाडो मौसम भर मनाङ(भोट)बाट आएका भोटेहरूले त्यही ठाँटीमा महिनौंसम्म बास बसेर गाउँघरमा डुलेर जिम्बु, सियो लागयतका सामग्री विक्री खासगरी धान, कोदो, मकैसँग साटेर खाद्यान्न जम्मा गरी गर्मी मौसम सुरु भएपछि मनाङ लिएर जाने गरेको पछिसम्म देखिने गरेको
त्यो ठाँटीको पूर्वतर्फ एउटा सानो खोल्सी छ, त्यहाँ एउटा ठूलो आँपको रुख थियो रे त्यो बेलामा त्यसै रूखको फेदबाट साँझपख र विहानको मिर्मिरे उज्यालोमा धुँवा आउने गर्दथ्यो र त्यसैकारणले त्यो ठाँटीको नाम धुवाउने ठाँटी रहन भएको आफूले आफू आग्रजबाट सुनेको पं. युवराज घिमिरे बताउनु हुन्छ ।

पछि शिक्षा सदन प्राथमिक विद्यालय त्यस स्थानमा रहेर आफ्नो भवन निर्वाण गर्न नसक्दासम्म त्यो ठाँटीको माथिल्लो कोठामा करिब पाँच वर्ष विद्यालयको कार्यालय सञ्चालनका साथमा केही महिना ठाँटीको तल्लो कोठामा कक्षा सञ्चालनको काम समेत गरिएको पं. घिमिरेले स्मरण गर्नु भयो ।

यस्ता पुरातात्विक महत्वका र समाजमा चेतनाको दियो बालेका ऐतिहासिक धरोहरलाई बचाएर राख्नु पर्छ सोही स्थानका बासिन्दासमेत रहनु भएका संविधानसभाका सदस्य डा. भिष्मनाथ अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो ‘यस्ता वस्तुलाई बचाएर राख्न सकियो भने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्दछन्, बचाउनु पर्छ ।’

मैले त पहिले देखिनै यसको संरक्षण गरौँ भनेको हुँ मेरो कुरा सुनिएन भन्ने गुनासो गर्नु हुन्छ स्थानीय सर्वोदय माविका निवृत्त प्रधानाध्यापक जगनन्नाथ न्यौपाने । उहाँले भन्नु भयो ‘स्थानीय सरकारले यसमा ध्यान दिनु पर्छ र तर दबाब पुगेन भन्ने लाग्छ ।’

यसबारेमा सुन्दरबजार नगरपालिकामा सम्पर्क गर्दा त्यो ठाँटीलाई भूकम्प पुनःनिर्माणबाटै निर्माण गरिनु पर्ने हो त्यसतर्फ किन भएन ? नगरपालिकाकोतर्फबाट पहल गर्छौ नगरपालिकाका मेयर जनक मिश्रले बताउनु भयो । उहाँले भन्नु भयो, ‘यदि भूकम्प पुनःनिर्माणबाट हुँदै नभए त्यस्ता ऐतिहासिक स्मारक बचाउनु पर्छ, नगरपालिकाकोतर्फबाट पनि पुनः निर्माणको काम गर्नेछौं ।’

सोही वडाका अध्यक्ष अमृत न्यौपानेले त्यस भवनको उपयोग के कसरी गर्ने भन्ने यकिन हुन नसकेका कारणले पुनःनिर्माण गर्ने कि नगर्ने द्विविधा छ सबैको चाहना भयो भने पुनः निर्माण गर्न सकिन्छ भन्नुभयो । भूकम्प प्रभावितको अन्तिम गुनासोका लागि सूचना जारी भएको छ यसपटक वडाबाट सिफारिस पठाउने सोचमा आफू रहेको उहाँले बताउनु भयो ।