स्थानीय तहमा सकिँदै हिउँदे सभा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
जिल्लाका स्थानीय सरकारहरुले हिउँदे सभा धमाधम सम्पन्न गरेका छन् । धुलिखेल, बनेपा र नमोबुद्ध नगरपालिकाले यहि साता नगर सभा सम्पन्न गरेका छन् ।

धुलिखेल नगरपालिकाको हिउँदे नगर सभा हिजो मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न अधिबेशनमा विभिन्न समितिका विधेयक, कार्याविधि तथा रणनीतिक योजनाहरुका प्रस्तावहरु पास भएका छन् । धुलिखेल नगरपालिकाको आपतकालिन ब्यवस्थापन कार्य संचालन कार्यविधि २०७५ वडा अध्यक्ष रविन्द्र कर्माचार्यले टेबुल गरे भने टोल विकास संस्था गठन तथा संचालन कार्यविधि २०७५ वडा अध्यक्ष पुष्प राउतले प्रस्तुत गरेका थिए ।

त्यस्तै वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले प्रस्तुत गरेको सार्वजनिक खरिद नियमावली २०७५ पनि टेबुल गरिएको थियो । योजना तर्जुमा तथा कार्यान्वयन कार्यविधि २०७५ वडा अध्यक्ष निराजन जंगमले टेबुल गरेका थिए भने एकीकृत नगर विकास योजनाका सन्दर्भमा प्रस्ताव टेबुल गरिएको थियो ।

धुलिखेल नगरपालिकाको चौबार्षिक कृषि विकास रणनीतिक योजना २०७५÷२०७६ देखि २०७८÷२०७९ का विषय वडा अध्यक्ष विनोद पराजुलीले प्रस्ताव टेबुल गरेका थिए । त्यस्तै धुलिखेल नगरपालिकाका संस्था दर्ता सम्वन्धी विधेयक २०७५ वडा अध्यक्ष विष्णु धितालले प्रस्ताव टेबुल गरेका थिए । त्यस्तै बजेट तथा योजना संशोधन प्रस्ताव सम्वन्धी विनियोजन ऐन र आर्थिक ऐनमा संशोधन सम्वन्धी प्रस्ताव उपप्रमुख विमला शर्माले प्रस्तुत गरेकी थिईन् । सभाको शुन्य समयमा बोल्दै नगर सभा सदस्यहरु उपेन्द्र हुमागाई, सुना मगर, गणेश आचार्य र हिरा तामाङले उठाएका जनसरोकारका विषयलाई नगर सभा अध्यक्ष अशोक ब्याञ्जुले सम्बोधन गर्नु भएको थियो ।

नगर सभामा धुलिखेलमा लगानी सम्मेलनमा छनौटमा परेका मुख्य योजनाहरु मेडिसिटी, ड्रिम ल्याण्ड र फोहोर मैला ब्यवस्थापन, काभ्रे भ्यालीले छनौट गर्ने दुई वटा मुख्य परियोजना, स्मार्ट सिटीका बारेमा छनौट गरिएको परियोजना लगायत नगर स्तरीय योजना, वडा स्तरीय योजना मार्फत नगरको विकास तथा सम्वृद्धीलाई अगाडी बढाउने नगर प्रमुख अशोक ब्याञ्जुले बताए । नगर सभामा नगरका विभिन्न वडामा निर्माण गरिने प्रहरी चौकी, काठ प्रशोधन केन्द्र, बाल सुधार गृह, वडा कार्यालय, जिल्ला कारागार, नगर स्वास्थ्य केन्द्र भवन निर्माणका लागि जग्गा सिफारिस प्रस्ताव पास गरिएको छ । त्यस्तै २०४३ सालमा नगरपालिका गठन हुँदाको नक्सा बमोजिम पुर्नसरंचनाको नक्सा मिलाउने प्रस्ताव पास भएको छ ।

त्यसैगरी बनेपा नगरपालिकाले हिउँदे नगर सभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भएको नगर सभाले कृषि ब्यवसाय प्रर्वद्धन विद्येयक २०७५ पारीत गरेको छ भने नगर कार्यपालिकाले गरेका विभिन्न निर्णयहरु अनुमोदन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेले आर्थिक ऐन २०७५ मा आर्थिक वर्ष २०७५÷२०७६ को आय तालिकाको अनुमानित र आर्थिक वर्ष २०७६÷२०७७ को अनुमानित आन्तरिक आय हेरफेर भएको जानकारी दिए ।

८ करोड लाख ५२ लाख १० हजारलाई शंशोधन गरी ९ करोड २ लाख ५३ हजार कायम गर्ने कार्यपालिकाको प्रस्तावलाई सभाले स्विकृत गरेको छ । आन्तरिक आय ९ करोड २ लाख ५३ हजार, बाह्रय आय ६० करोड ९३ लाख ४३ हजार, गत वर्षको मौज्जात समेत गरी ७६ करोड २१ लाख ५७ हजार रुपैया आम्दानी हुने बजेट पास भएको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकाको हिउँदे नगर सभा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा केहि विधेयकहरु पेश भएका थिए भने आम्दानी खर्च र नगर कार्यपालिकाका निर्णयहरु अनुमोदन गराईएको थियो । केहि स्थानीय सरकारले यस अघि नै सभा सम्पन्न गरिसकेका छन् भने केहिको अझै बाँकी छ ।