विस्केट जात्राको सम्पुर्ण तयारी पुरा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्केट जात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आजबाट ट आठ रात नौ दिन सम्म चल्ने विस्का जात्राको लागि भैरव नाथ र भद्रकालीको रथ तयार भएको गुठी संस्था भक्तपुरले जनाएको छ ।

जात्राको अन्य सम्पूर्ण तयारी समेत पुरा भएको गुठी संस्थान भक्तपुरका प्रमख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ ।रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई ‘होस्टे…हैसे…हा….हा…’गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ ।

बिस्काः भक्तपुरको लामो र मुख्य जात्रा हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिदै आएको छ ।विस्का जात्राको लागि भक्तपुर नगरपालिका,जिल्ला प्रशासन ,प्रहरी गुठी संस्थानले कार्यादल नै गठन गरि जात्रालाई शान्तिपुर्ण र मर्यादित बनाउन विभिन्न कार्यक्रम, कार्याशाला, छलफललाई तिव्र वनाएका छन् ।

बुधबार विहान संयुक्त रुपमा सद्भाव र्यालीको आयोजना समेत गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले विस्का जात्रालाई शान्तिपुर्ण रुपमा मनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बिस्का जात्राको क्रममा ढुंगामुढा गर्ने तथा मादक पदार्थ सेवन गरी झैझगडा गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताउनुभयो ।

जात्रालाई शान्तिपुर्ण रुपमा मनाउन आग्रह

उहाँले बिस्का जात्राका क्रममा हुनसक्ने ढुंगामुढा र झैझगडा गर्नेहरूको पहिचानको लागि ठाउँठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले विस्का जात्रा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रख्यात भएको बताउदै शान्तिपुर्ण र मर्यादित तवरले विस्का जात्रालाई मनाउन आग्रह गर्नुभयो ।
प्रहरीले जात्रामा उच्छृ्ङखल गतिविधि गर्नेलाई भने नियन्त्रणमा लिने र जात्राका क्रममा हुने हुलदङ्गा र उच्छृंखल गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका गरि एक हजार प्रहरी जात्रा स्थलमा परिचालनको तयारी गरेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ थियो । जात्रा स्थलका निगरानिको लागि समेत विगत बर्ष भन्दा सिसी क्यामेर बढाएको र ४३ स्थानमा सिसी क्यामरा जडान गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरुवात हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

ढुंगामुढासँगै जात्राको क्रममा सर्वसाधारणको ज्यान समेत जाने भएकाले जात्रा सुरु नहुँदै प्रहरी प्रशासनले जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्नकै लागि महिना दिनअघि देखि विभिन्न तयारी गर्दै आएको छ ।

तर बिस्का जात्राको विगत हेर्दा प्रहरी प्रशासनले यसरी महिनादिन अघिदेखि गर्ने प्रयास असफल हुँदै आएको छ । भक्तपुर नगरपालिकाले समेत महिनादिन अघिदेखि जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न तयारीहरू गरेको छ ।

प्रहरी, प्रशासन र नगरपालिकाले यस वर्षको जात्रामा ढुंगामुढा हुन नदिने संयुक्त प्रयास थालेका छन् ।दुईतिर रथ तान्दा,रिस साँध्ने क्रममा ,मापसेको लफडा,कमजोर व्यवस्थापन लगायतका कारणले ढुंगामुढा हुने गरेको स्थानीयको भनाई छ ।

बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानेर सम्बन्धित ठाउँमा पुर्याउनु हो । जति तान्दा पनि रथ टसको मस नहुने र रथमा दर्जनौं अनाधिकृत व्यक्ति चढ्ने भएकै कारण पनि ढुंगामुढा हुने संस्कृतिकर्मी प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठ दावी गर्नुहुन्छ । ‘रथमा अनधिकृत मान्छे बसेपछि रथ तान्नेहरूलाई रिस उठ्छ’, ‘उनीहरूलाई रथबाट झार्न अगाडि जे भेटिन्छ त्यसैले हान्ने गरिएको इतिहाँस हामी सँग छ । यससँगै ढुंगामुढाजस्तो ठूलो घटनामा परिणत भएका कयौं घटना रहेको उहाँको भनाई छ ।

त्यसैले रथमा अनधिकृत व्यक्तिलाई चढ्न रोक्दै समयमै जात्रा सुरु गरि समयमा नै सकाइए शान्तिपूर्ण हुने सरोकारवालको भनाई छ ।ढुंगामुढाको कारण भक्तपुरको बिस्का जात्रा बद्नाम हुन थालेको धेरैको भनाइ रहेको छ । ढुंगामुढा हुने कारण बिस्का जात्रा हेर्न जोकोही आउन डराउने बताइन्छ तर यथार्थ ठ्याक्के त्यस्तो पनि छैन । पछिल्लो समयमा बिस्का जात्रा हेर्न आउनेहरुको संख्या घटेको भने छैन । बिस्का जात्राका क्रममा भैरवनाथको रथ गुड्ने ठाउँमा पाइला टेक्ने ठाउँ हुँदैन ।

धेरैलाई ढुंगामुढा भएन भने बिस्का जात्रा मनाएको जस्तो नहुने गरेको स्थानीय बताउँछन् । बिस्का जात्राका क्रममा ढुंगामुढा भएन र झैझगडा भएन भने कतिपय युवाहरुसमेत यस वर्ष बिस्का जात्रा खल्लो भयो भन्छन् । त्यसैले बिस्का जात्राको पर्याय ढुंगामुढा हुन थालेको यसबाट प्रस्ट हुन्छ ।
यी सबैलाई ध्यान दिन सकिएर त्यो अनुसारको रणनीति तय गर्न सकिए बिस्का जात्रामा हुने ढुंगामुढा तथा झैझगडा अन्त्य गर्न सकिने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले दावी गर्नुहुन्छ ।

भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले विस्का जात्रा शान्तिपूर्ण बनाउन सके देशको नै प्रतिष्ठा बढ्ने बताउनुहुन्छ ।जात्रा समयमै सञ्चालन गरी समयमै सम्पन्न गर्न सके सम्भावित दुर्घटनाहरुमा कमी आउने उहाँको भनाई छ ।
जात्रामा ढुंगा मुडाको परम्परा भने २०२४ साल देखि सुरु भएको भन्ने पनि चलन रहेको छ तर यो भन्दा पहिला पनि जात्रामा झगडा हुने भने गरेको स्थानीय बताउँछन् । पञ्चायत आएपछि त्यसको दमनको रीस प्रहरी र प्रशासन सँग साँध्न ढुँगा मुडा सुरु भएको भन्नेहरु पनि छन् ।

विक्रम संवत् अनुसार सौरमासको आधारमा लिच्छवीकाल भन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध विस्केट जात्रा विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।भैरवनाथको रथमा तलेजुका पुजारीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पुजा र स्थानीयको पुजा सकेर रथ तान्न सुरु गरिन्छ ।

मुख्य गरी चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग म¥यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू बताउँछन् ।
ईतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै वि को अर्थ विश्वनाथ भैरब र ध्वजा शिव र शक्तिको प्रतिक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताउनुुन्छ । बिस्केटलाई सहकालको देवताका रुपमा पनि पुजिने बताउँदै बिस्केट जात्रा मसान जात्राको रुपमा मृत आत्माको मुक्तिको लागि पनि मनाउने उहाँको भनाई छ ।

यता थिमीमा चैत मसान्तदेखि बैशाख २ गतेसम्म हुने ३२ खटको जात्रा, सिन्दूर जात्रा र जिब्रो छेड्ने लगायतका जात्राको तयारी भैरहेको छ ।
मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा जात्रा सञ्चालनमा थिमी प्रहरीले सुरक्षा व्यबस्था मिलाउने, गुठी संस्थानले विगतमा जस्तै सहयोग निरन्तर दिने, सडक मर्मत गर्ने, पानीको व्यबस्थित रुपमा वितरण गर्ने तयारी भएको छ ।