चन्द्रगढी एयरपोर्ट स्तरोन्नतिः जमीनको मुआब्जा धमाधम वितरण, दुई महीनाभित्र पोखरा उडान

0
Shares

उत्तम नेपाल, भद्रपुर ।
झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि ३७ जना जग्गा धनीबाट ६२ कित्ता जमिन अधिग्रहण गरिएको जग्गालाइ मुआब्जा वितरण गरिरहेको छ ।

विमानस्थल स्तरोन्नतिका लागि अनुमानित १२ विघा जमिन रोक्का गरेको एकवर्ष पछि मुआब्जा रकम वितरण गरिएको हो । पाँच तहमा वर्गीकरण गरि मूल्याङ्कन मुआब्जालाइ हालसम्म २९ जनाको जमिन खरिद गरिसकिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

जमिन अधिग्रहणका लागि १३ करोड २४ लाख २५ हजार एक सय ६० रुपैयाँ बराबरको रकम हालसम्म भुत्तानी गरिसकिएको कार्यालय प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो । ३ करोड ८० लाख रुपैयाँ बराबरको जमिन अधिग्रहणको क्रममा रहेको र ४ जनालाई केही दिन भित्रै रकम भुक्तानी गर्ने उहाले बताउनुभयो । बाँकी जग्गा धनी विदेशमा रहेकोले प्रक्रियामा रहेको उनको भनाइ छ । लगभग २० करोड रकम मुआब्जामा जाने उहाको भनाइ छ ।

जग्गा प्राप्ती मूल्याङ्कन निर्धारण समितिको वैठकले प्रदेश,प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिबिच तीन महिना अघि वसेको वैठकले निर्णय गरी मुआब्जा मूल्याङ्कनको आधारमा वितरण गरिएको उहाले बताउनुभयो । जग्गामा परेका पाँचओटा घरसहित एयरपोर्टले लिने ११ विघा ८ कठ्ठा साढे १६ धुर जग्गालाइ बाटो, खेती, खोलाले छोएको लगायत बनोट तथा जग्गाको अवस्थालाइ हेरेर छुट्टा–छुट्टै पाँच भागमा वर्गीकरण गरेर मूल्याङ्कन गरेको उनको भनाइ छ ।

झापाको साविक चन्द्रगढी गाविस – ७ (हाल भद्रपुर नगरपालिका ८ र ९ ) भएपनि अधिग्रहण गरिएको जग्गा भने स्रेस्ता भद्रपुर – १० मा छ । जग्गालाई विमानस्थलको स्तरोन्नतिका लागि ०७३ मङ्सीर ८ गते मन्त्रीस्तरको निर्णयले स्थायी रुपमा जग्गा प्राप्ती गर्नको लागि सो क्षेत्रलाई निर्णय गरेको थियो । जग्गा रोक्का गरेको एक वर्षमा मुआब्जा रकम नपाएको भन्दै केही जग्गाधनीले धर्ना तथा विरोध जनाएका थिए । मूल्याङ्कन निर्धारणको विषयलाइ लिएर जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाइ ज्ञापन पत्र समेत बुझाएका थिए ।

घाँसे मैदानबाट शुरु भएको विमानस्थल रात्री कालिन सेवासँगै आन्तरिक उडान क्षेत्र बढाउने भएको छ । वि.सं.२०२६ सालमा निर्माण भएको विमानस्थल प्रविधि र भौतिक रुपमा रुपान्तरण हुदै योजनावद्ध ढङ्गबाट काम अघि बढाइएपछि विमानस्थलको अवस्था सुध्रिदै गएको हो । दुइ महिना भित्र पोखराको उडान थपिने चुडालको भनाइ छ । हाल पाँच विमान कम्पनीका जहाजले सेवा दिइरहेको उहाले जनाउनुभयो ।

केही महिना अघि एयर फिल्ड लाइट जडान पछि माघ १७ गतेबाट रात्रीकालिन सेवासँगै २२ सयबाट घटेर १६ सयको भिजिविलिटीमा विमान अवतरण भइरहेको उहाको भनाइ छ । भविश्यमा विमानस्थलमा एप्रोच लाइट राख्ने योजना भएकोले विमानस्थलको पश्चिम तर्फ रहेको नेपाली सेनाको व्यारेक तथा जिल्ला प्रशासन कार्यालयलाइ एयरपोर्टले स्वामीत्वमा लिने विषयमा छलफल भइरहेको उहाले बताउनुभयो । एप्रोच लाइट जडान भइसकेपछि एक हजार तीन सय भिजिविलिटीमा नै विमान अवतरण हुने उहाको भनाइ छ ।

। वि.सं. २०२६ सालदेखि विलार्टस पार्टश, डोनियर टुइनेटर लगायतका साना जहाज अवतरण हुदै आएपनि बिचमा बन्द भएर वि सं.२०५१ सालबाट निरन्तर सञ्चालनमा आइरहेको छ । पछिल्लो समय ठुला जहाजले उडान भर्दै आइरहेका छन् ।