पत्रकारिता बुझाउन धमला कलेजमा

28
Shares

काठमाडौं ।
समसामयिक विषयका अन्तर्वार्ता र अन्तरक्रियामा व्यस्त रहने पत्रकार ऋषि धमला सोमबार भने पृथक भूमिकामा देखिए । कलंकीस्थित एडमार्क कलेजमा उनी आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीमाझ भेटिए ।

स्नातक तहका छात्रछात्रालाई आफूले पत्रकारिता क्षेत्रमा भोगेका उतारचढावका अनुभव बाँडेका धमलाले पत्रकार बन्न चाहनेहरुलाई सैद्धान्तिक र विविध व्यावहारिक ‘टिप्स’ पनि सिकाए । लगनशीलता र इमानदारिता जुनसुकै क्षेत्रका लागि आवश्यक हुने बताउँदै उनले भने– ‘पत्रकारिता क्षेत्रका लागि त यस्ता कुरा झनै आवश्यक हुन्छन्, सफल पत्रकार बन्न निरन्तर लगाव, मेहनत र साधना चाहिन्छ ।’
यही अभ्यासलाई निरन्तर अनुशरण गर्दा नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित भएको उनको भनाइ थियो । टेलिभिजनमा देखिनु, रेडियोमा सुनिनु, अखबार र अनलाइन माध्यममा समाचार र समाचारमूलक सामग्री पस्किनु सामान्य अभ्यासजस्तो लागे पनि यी माध्यममा निरन्तर टिक्नु सजिलो काम नभएको धमलाले बताए ।

नेपाली पत्रकारिताको समसामयिक अभ्यास, अन्तर्वार्ताका सैद्धान्तिक र व्यावहारिक पक्षबारे विद्यार्थीले जिज्ञासा राखे । सामाजिक सञ्जालमा छाउने विद्युतीय माध्यमका भ्रमपूर्ण समाचार र अन्य विकृति नियन्त्रण गर्न राज्य गम्भीर नभएकोमा उनले आक्रोश पोखे ।
स्नातक तहको तेस्रो वर्षका छात्र विकेश श्रेष्ठले उनलाई प्रश्न गरे– ‘तपाईं आफ्ना हरेक अन्तर्वार्तामा जनता जान्न चाहन्छन् भन्ने वाक्य दोहो¥याइरहनुहुन्छ, जनताले जान्न चाहेको हो कि, तपाईं आफैंले ?’ श्रेष्ठको प्रश्न निकै परिपक्व भएको बताउँदै धमलाले जवाफ दिए– ‘वास्तवमा जान्न चाहेको जनताले नै हो, म त जनताको माध्यम मात्रै बन्ने गरेको छु ।’

आमसञ्चार र पत्रकारिता शिक्षा धेरै कलेजमा पठनपाठन हुने गरे पनि आमसञ्चार माध्यमले खोजेका योग्य जनशक्ति बजारमा अझै अभाव भएको उनको भनाइ थियो ।