शैक्षिक गुणस्तरका लागि अभिभावक जुर्मुराए

0
Shares

सुभेन्द्र दास, लहान । लहानमा केही वर्षअघिसम्म आफ्ना छोराछोरी स्कूल पठाए जिम्मेवारी पुरा भएको बुझने यहाँका अभिभावकहरु आजकल शिक्षकहरुसंगै मिलेर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जुटेका छन् ।

सिरहाको दक्षिण सिमावर्ती क्षेत्र पर्ने लक्ष्मीपुर पतारी गाँउपालिका – ४ स्थित रहेको जनता नन्द ललिता माध्यमिक बिधालय लक्ष्मीपुर पतारी विधालयका शिक्षक र अभिभावक दुवै पक्षले आ आफनो तर्फबाट कस्तो भूमिका निर्वाह गर्दा विधालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेबारे व्यावहारीक अभ्यासको सुरु गरेका छन् ।

यसरी आफूहरुले सामूहिक रुपमा छलफल अभ्यास सुरु गरेपछि विधालयमा परिर्वतनको सङ्केत देखिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र दासले बताउनुभयो । उहांले भन्नुभयो – केही समय अधिसम्म छोराछोरीलाई स्कूल पठाए मात्रै आफ्नो जिम्मेवारी पुरा भयो भन्ने अभिभावकहरुले समेत आजकल नियमित रुपमा विद्यालयको निगरानी राख्छन् ।

अभियान अन्तर्गत सबै अभिभावकहरु एकै ठाँउमा भेला भएर शिक्षकहरुका लागि लिखित तथा मौखिक रुपमा सुझाव दिन्छन् ।त्यस्तै शिक्षकहरुले पनि अभिभावकहरुको दायित्व र जिम्मेवारीबारे जानकारी गराँउछन् । विधालयमा शिक्षकहरुको नियमित उपस्थिती, शैक्षिक सामग्रीसहितको अध्यापन, फर्निचर, खानेपानीलगायतको सुधारका लागि सुझाव दिएको स्थानिय अभिभावक बलि मण्डलले बताउनुभयो । सरकारी विद्यालयमा राम्रो पढाई हुदैन भनेर आरोप लगाउने अभिभावकहरुले समेत आफ्नो दायित्वबारे बुझेका छन् ।

त्यस्तै,अभिभावकहरुको भूमिकाबारे शिक्षकहरुले लिखित रुपमै सुझाव दिन्छन् ।बिधालयका प्रधानाध्यपक बिनोद कुमार सिंहले आफ्ना बालबच्चाको नियमित उपस्थिती, गृहकार्य गरे नगरेको बारे सचेत हुने अभिभावकहरुलाई सुझाव दिइ रहेको उहांले बताउनुभयो ।

उहांले भन्नुभयो – हामीले यसबारे बेलाबेलामा एकैठाँउमा भेला भएर समीक्षा गर्दै आएका छौ । दुवै पक्षको राम्रो समन्वय हुन सके परिर्वतन सम्भव छ भन्नेकुराको पुष्टि यसबाट भएको अभिभावकहरुको भनाई छ ।