मोरङ प्रशासनमा नागरिकता लिन ’टोकन’

0
Shares

विराटनगर ।
जन्मका आधारमा नेपाली नागरिकता पाएका सन्तानले वंशजको नागरिकता पाउन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भिड बढेको छ । दिनदिनै नागरिकता लिनेको भिड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली लागू गरेको छ ।

नागरिकता लिन आउनेलाई फर्खेर अर्कोदिन आउन नपरोस् भन्दै टोकन लागू गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । गृह मन्त्रालयले चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएपछि नागरिकता लिनेको भिड लाग्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ पाण्डेले ७ गतेसम्मको लागि टोकन वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँले विहानदेखि स्थानीय तहबाट सिफारिस गराएर नागरिकता लिनको लागि आउनेको भिड बढ्न थालेपछि टोकन प्रणाली लागू गरेको जनाउँदै दैनिक २ सयको दरले टोकन वितरण गर्ने गरेको जानकारी दिनुभयो । अब टोकन अनुसार आएर एकै दिनमा नागरिकता पाउने बताइएको छ ।

मोरङको दुई इलाका प्रशासन कार्यालयबाट समेत नागरिकता वितरण हुदैआएको छ । विसं २०६३ मा नागरिकता टोलीले गाउँ–गाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान बालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो ।