सुत्केरी भएकै दिन श्रीमानको कुटाईबाट एक महिला गम्भीर

0
Shares

नेपाल समाचारत्रप, पर्वत ।
सुत्केरी श्रीमतीलाई पोषिलो खाना खुवाउने देखि खुवाउने दायित्व श्रीमान र परिवारको हो तर पर्वतकी एक महिलाले सुत्केरी भएकै पहिलो दिन श्रीमानबाट माया ममताको साटो उल्टै चिर्पट प्रहारबाट घाइते हुनुपरेको छ ।

पर्वतको फलेवास नगरपालिका २ थापाठाना खनारका ३० बर्षिय मदन नेपालीले सुत्केरी भएकै दिन श्रीमती मुना नेपालीलाई चिर्पट दाउरो प्रहार गरेर मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

घरमा नै नव शिशु (छोरा लाई आइतबार विहान जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका हुन् । आइतबार राती नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचार पश्चात् थप उपचारका लागि सोमबार दिउँसो पोखरा पठाइएको छ । उहाँको टाउकोमा गहिरो चोट रहेको र ३१ वटा टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताउनुभयो ।

मदनले मदिराको नशामा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मात्तिदै घरमा आएको र एक्कासी आफुमाथि हातपात गरेको पिडित महिला मुनाले बताउनुभयो । घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफु बँचेको पिडित महिलाले बताउनुभयो ।

छिमेकीकै सहयोगमा प्रहरीले जानकारी पाएपछि फलेवास नगरपालिका १ कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका छन् ।

रकम अभावमा उपचारमा समस्या
पिडित महिलाको माइत पक्षका आफन्तहरु कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवर लगायतका व्यक्तिहरुले उनलाई अस्पतालमा सहयोग गरिरहेका छन् । मजदुरी गरेर खाने परिवारका भएका कारण आफुहरुसँग उपचारका लागि आवश्यक रकम समेत नभएकाले सहयोगी मन सँग आवश्यक सहयोग गरिदिन पिडित महिलाले आग्रह गरेकी छिन् ।

अहिले महिलालाई छिमेकीहरुले सिटी स्क्यानका लागि पोखरा तर्फ लगेका छन् तर रकम नभएका कारण छिमेकीलाई समेत समस्या परेको छ ।