लिवियाको राजधानी विद्रोहीले कब्जा गर्दै, लिवियाको अवस्था तनावपूर्ण बन्दै

0
Shares

लिविया ।
अफ्रिकी राष्ट्र लिवियाको स्थिति अहिले तनावपूर्ण बन्दै गएको छ । केही दिनदेखि विद्रोही समुह लिवियन राष्ट्रिय आर्मीले राजधानी त्रिपोली कब्जा गर्न खोज्दा यस्तो तनाव उत्पन्न हुन गएको हो ।

गत शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो । वार्ताबाट निष्कर्ष ननिस्केसँगै विद्रोही नेता खलिफाले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएका छन् ।
हाल विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेतापनि त्रिपोलीबाट ट्युनिशियामा जाने सडकमार्ग चालु अवस्थामा छ । सो ठाउँमा तैनाथ ‘ लीवियामा संयुक्त राष्ट्र सहयोग’ मिशनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिशनले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशियामा पठाउने कार्य शुरु गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा बस्दै आएका छन् । मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका यूएन स्टाफहरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनाथ अन्तर्गत त्रिपोलीमा रहेका २३१ जना नेपाली शान्ति सैनिकले गरिरहेका छन् ।

यस विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन् ।