लमजुङलाई चन्दामुक्त जिल्ला बनाउने प्रजिअको प्रतिवद्धता

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा भरखरै पदस्थापित हुनुभएका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले लमजुङलाई चन्दामुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्र्नु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ(लउवा संघ)ले आफ्नो कार्यालयमा आमन्त्रण गरी उहाँलाई गरेको स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले सोमबार त्यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले त्यसका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउँदै कसैले पनि चन्दा नदिनु होला त्यस्तो थाहा भयो भने चन्दा दिनेलाई पनि कारवाही गर्नु पर्ने हुन्छ त्यो स्थिति उत्पन्न हुन नदिनु होला भन्नुभयो ।

उहाँले भन्नुभयो ‘हामी लमजुङ जिल्लालाई चन्दामुक्त जिल्ला बनाउन चाहन्छौ ।’ आफू सुरक्षातर्फ पनि विद्यार्थीसमेत भएका नाताले मानिसलाई कोठामा थुनेर सुरक्षाको प्रत्याभूति हुँदैन भन्ने बुझेको छु तर हाम्रो परिवेश, प्रविधि, संस्कृति आदिलाई पनि ख्याल गर्नु पर्ने हुन्छ डा. भट्टराईले बताउनु भयो । उहाँले स्वच्छ प्रतिस्पर्धामा व्यापार व्यावसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि सबै व्यावसायीहरू करको दायरामा आउन जरुरी छ त्यो चुनौतिलाई छलफलका माध्यमबाट समाधान गरिने छ भन्नुभयो ।

लउवा संघका अध्यक्ष राजेश थापाले प्रजिअ डा. भट्टराईलाई स्वागत गर्नु हुँदै जिल्लाको वस्तुस्थिति र संघका गतिविधिमा प्रकाश पार्नु भएको थियो । उहाँले जिल्लामा अझै पनि करिव २ हजार व्यावसायिक करको दायरामा आउन नसकेको हुँदा जिल्ला प्रशासनबाट गरिने अनुगमन, अनुगमनका लागि मात्र नभई सार्थक हुन सकोस भन्नुभयो ।

लउवा संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको उक्त स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघका प्रदेश सदस्य रामकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । लउवा संघका द्वितीय उपाध्यक्ष गुणराज शिलवालले समापन गर्नु भएको कार्यक्रमको सञ्चालन लउवा संघका महासचिव कृष्णजंग गुरुङले गर्नु भएको थियो ।