बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलव

0
Shares

यमलाल भुसाल, बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन ।

प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन अघि आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिकको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १ हजार ५ सय रुपैयाँ हुन आउँछ । प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् ।
जसमध्ये एक जना प्रदेश सभा सदस्यको मुत्यु भएकोले ८६ जना रहेका छन ।यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

यसका साथै प्रदेश नं ५ को प्रदेशसभाको आईतवारको बैठकले औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित समेत गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले विधेयक निर्णयार्थ प्रस्तुत गर्नु भएपछि प्रदेशसभामा सर्वसम्मतिले पारित भएको घोषणा गर्नुएको हो ।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले पर्यटकीय आकर्षण बढाउन सांस्कृतिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रदेश सभा सदस्य फकरुद्दिन खानले विधेयकले आन्तरिक पर्यटकका विषयमा स्पष्ट नगरेको भन्दै स्पष्ट पार्न माग गर्नु भएको थियो ।
प्रदेशका कला, संस्कृति र भौगोलिक विविधता पर्यटनको आधार भएको प्रदेशसभा सदस्य कमला विश्वकर्माले बताउनु भयो ।