प्रदेश ५ का सांसदले दिए एक दिनको पारिश्रमिक

0
Shares

यमलाल भुसाल, बुटवल
प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन ।

प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन अघि आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिकको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १ हजार ५ सय रुपैयाँ हुन आउँछ ।

प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् । जसमध्ये एक जना प्रदेश सभा सदस्यको मुत्यु भएकोले ८६ जना रहेका छन । यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

यसका साथै प्रदेश नं ५ को प्रदेशसभाको आईतवारको बैठकले औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित समेत गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले विधेयक निर्णयार्थ प्रस्तुत गर्नु भएपछि प्रदेशसभामा सर्वसम्मतिले पारित भएको घोषणा गर्नुएको हो ।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले पर्यटकीय आकर्षण बढाउन सांस्कृतिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रदेश सभा सदस्य फकरुद्दिन खानले विधेयकले आन्तरिक पर्यटकका विषयमा स्पष्ट नगरेको भन्दै स्पष्ट पार्न माग गर्नु भएको थियो ।
प्रदेशका कला, संस्कृति र भौगोलिक विविधता पर्यटनको आधार भएको प्रदेशसभा सदस्य कमला विश्वकर्माले बताउनु भयो ।

सैद्धान्तिक छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले विधेयकमार्फत धेरै विषयलाई स्पष्ट गर्न खोजिएको बताउनु भयोे ।

त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

यस्तै जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण कार्यलाई व्यवस्थित एंव नियमित गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गरेको पत्र सभामुख घर्तीले सभामा पढेर सुनाउनु भएको छ ।