युवालाई संसदीय अभ्यास सिकाइदै

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा युवाहरूलाई एक कार्यक्रमका वीच संसदीय अभ्यास सिकाइएको छ । संघीय संसदको परिदृश्यको अभ्यास र प्रदर्शन जिल्ला सदरमुकाममा बेसीशहर नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा सहभागी भएका ३३ जना युवामध्ये ३० जनाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका थिए ।

अगाडि मञ्चमा सभामुख छन् । मञ्चको अघिल्लो बायाँ रोमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरू छन् । बायाँ तिर पछिल्लो रोमा सत्ता पक्षका सांसद, दायाँ तिर प्रतिपक्ष सांसद, त्यसपछि पत्रकार, विशिष्ठ ब्यक्तिहरू क्रमशः राखिएको छ । सुरक्षाकर्मी र संसदका मर्यादापालक लामबद्ध छन् । उनीहरू संसद हलको ढोकामा कडा सुरक्षा दिन होसियारीसाथ बसेका छन् । संसद कक्षमा तोकिए अनुसारको आफ्नो स्थानमा बस्नुपर्ने हुन्छ । आफूलाई तोकिएको स्थान भन्दा फरक स्थानमा बसे मर्यादापालकले तत्कालै सच्याउन तत्परता देखाउँछन् र तोकिएकै स्थानमा बस्नु पर्ने हुन्छ । हल प्रवेशका लागि आफ्नो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति संसद हलमा जान पाउँदैनन् ।

राजनीतिक नेतृत्वमा युवालाई पु¥याउन तथा युवाका मुद्दाहरूप्रति संसदलाई सचेत गराउन, युवालाई संसदीय अभ्यासका विषयवस्तुमा विज्ञ बनाउन युवा संसद सञ्चालन गरिएको जिल्ला युवा समितिका अध्यक्ष विवस बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार संसदमा सरकार, संसद र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे अभ्यास गरिएको थियो । उनका अनुसार चुनावी प्रक्रियाबाटै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, गृहमन्त्री र अन्य मन्त्री चयन गरिएको थियो ।

संसदमा राष्ट्रपतिले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाई सहभागी सांसदहरूलाई त्यसको पक्ष विपक्षमा राय राख्न लगाइएको थियो । यसलाई हेर्दा संघीय संसदकै छनक दिन्थ्यो । तर, त्यो अभ्यास र दृश्य सक्कली संसद नभएर युवाहरूले सञ्चालन गरेको नमुना संसदको अभ्यास थियो ।

सहभागी नमुनाका प्रधानमन्त्री, सभामुख र मन्त्रीहरू तथा सांसद सवै आ–आफ्नो मौलिक पोसाकमा सजिएका थिए । त्यो अभ्यासमा सहभागी गराउनु पूर्व सहभागी युवाहरूलाई चारदिनसम्म अभ्यासका लागि तालिम दिइएको थियो ।

उक्त संसदीय अभ्यासको सभामुखमा सुजन परियार चुनिएका थिए । राष्ट्रपतिमा सिर्जना बसौला तथा उपसभामुख अनिता सुनार चयन भएकी थिइन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता क्षितिज पौडेल चयन भएका थिए । रमाइलो दृश्य त संसदीय अभ्यासमा भाग लिएका ३३ सदस्यमध्ये ३० जना सांसदले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका थिए । अन्ततः प्रधानमन्त्रीमा निश्चल पाण्डे चुनिएका थिए ।

त्यसपछि, प्रधानमन्त्रीद्वारा गृहमन्त्रीमा अनु परियार, अर्थमन्त्रीमा रविन विश्वकर्मा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा कमल कुँवर, युवा तथा खेलकुद मन्त्रीमा सुशील थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सुगम देउजा र स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सागर विश्वकर्मा चुनिएका थिए । कार्यक्रममा सभामुख पनि चुनावी प्रक्रियाबाटै चुनिएको थियो ।
युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा गण्डकी प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, सांसद धनञ्जय दवाडी, बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नेपाल बार इकाइका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद अधिकारी, राष्ट्रिय युवा परिषद्का उपसचिव ध्रुवराज पौडेल, युवा जिल्ला परिषदका अध्यक्ष विवश बुढाथोकी लगायतले प्रशिक्षण दिनु भएको थियो ।

नमुना युवा संसद बैठकको समापन गर्दै गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले संसदीय अभ्यासले युवामा अनुशासन सिकाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘संसदीय अभ्यासले भावी दिनमा युवालाई संसद र सरकार कसरी चलाउने भन्ने सिकाएको छ ।’ संसदको भूमिकामा निभाएका युवाहरूले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय सरकारबाट सम्बोधन गर्नका लागि दबाब दिएको बताएका छन् ।

पदीय जिम्मेवारी बहन गरेर संसद चलाउँदा छुट्टै मनोविज्ञान आउँदो रहेछ अर्थमन्त्रीमा रविन विश्वकर्माले बताए । उक्त अभ्यासले आफूमा नेतृत्व क्षमताको विकास गर्ने मौकासमेत मिलेको सभामुख बनेका सुजन परियारले जानकारी दिनु भयो ।

उक्त संसदीय अभ्यासमा बेसीसहर नगरपालिकाको ११ वटै वडाका गठन भएका युवा क्बलबाट ३÷३ जनाका दरले ३३ जना युवायुवतीले भाग लिएका थिए । उक्त नमुना संसदको अभ्यास जिल्ला युवा परिषद्ले लमजुङले जिल्लाका विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन गरेको हो ।