डडेल्धुरा उद्योग बाणिज्य संघमा भट्ट निर्वाचित

0
Shares

राम धामी, डडेल्धुरा
डडेल्धुरा उद्योग बाणिज्य संघको ११ औं कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा लोकराज भट्ट निर्वाचित भएका छन ।
आईतबार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार प्रतिद्वन्द्वी भोजराज भट्टलाई ११ मतको झिनो मतान्तरले पछिपार्दै लोकराजले नेतृत्वको अवशर प्राप्त गरेका हुन ।

लोकराज भट्टले पाँच सय १० प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी भोजराज भट्टले ४ सय ९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । डडेल्धुरा उद्योग बाणिज्य संघका साथै सुदूरपश्चिम उद्योग बाणिज्य संघको समेत नेतृत्व गरिसकेका भट्टलाई नेपाली काँग्रेस डडेल्धुराका नेताहरुले साझा उम्मेदवारका रुपमा अघि सारेका थिए ।

निबर्तमान अध्यक्ष खेमराज पनेरुसमेतको सहयोग र समर्थनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अघि सारिएका अध्यक्ष पदका प्रत्यासी भोजराज भट्टले अपेक्षा भन्दा बढि मत पाएपनि नेतृत्व हासिल गर्न सकेनन् । सचिव पदमा भने भोजराज भट्ट प्यानलका प्रत्यासी बाशुदेव जोशी चार सय ९५ मत प्राप्तगर्दै विजयी भएका छन । लोकराज भट्ट नेतृत्वको प्यानलबाट सचिव पदका प्रत्यासी बिष्णुराज जोशी झिनो मतले पराजित भएका छन । कार्यसमितिको अध्यक्ष, सचिव र १० सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।

प्रथम उपाध्यक्षमा द्वीजराज भट्ट, द्वितीय उपाध्यक्षमा दीपक महता, महासचिवमा खेमराज अवस्थी र कोषाध्यक्षमा लालमणी पन्त निर्बिरोध निर्वाचित भएका थिए । ११ औं नयाँ कार्यसमिति सदस्य पदमा बसन्तराज चटौत, दीपकबहादुर सिँह, लालबहादुर मडै, लक्ष्मी ऐर, मनोजराज पाठक, हरि उप्रेती, महेश कठायत, दिनेश पनेरु, दिपेन्द्र रुपाली र गणेशबहादुर ऐर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिबक्ता हरिप्रसाद भट्टले जानकारी दिए ।

डडेल्धुरा जिल्लामा कृयासिल उद्योगी व्यवसायीहरुमा नेपाली काँग्रेसको वर्चश्व रहेपनि उद्योग बाणिज्य संघ डडेल्धुराकै इतिहासमा पहिलो पटक नेपाली काँग्रेस डडेल्धुराले अघि सारेका उम्मेदवारले नेतृत्व हासिल गरेको भन्दै नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।

निर्वाचनको पुर्वसन्ध्यामा डडेल्धुरा जिल्लामा कृयासिल राजनीतिक दलका जिल्लास्तरीय नेताहरुका साथै भातृ तथा शुभेच्छुक संघ संगठनमा आवद्ध नेता कार्यकर्ताहरु निकै सक्रिय भएका थिए । राजनीतिक पार्टीहरुको प्रतक्ष्य संलग्नताका कारण उद्योगी व्यवसायीहरुको निर्वाचनले निकै रौनकता लिएको थियो । शनिबार रातभरि भएको मत गणनाको परिणाम आईतबार बिहान सार्वजनिक गरिएको हो ।