इन्जिनियरहरूको राजीनामा दिने ‘मुड’

0
Shares

गंगा बराल, काठमाडौँ ।
पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुले आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

भूकम्पमा धेरै क्षति भएका ३२ वटा जिल्लामा कार्यरत इन्जिनियरहरुले आफूहरुलाई दिइदैँ आएको भत्ता निरन्तर रुपमा दिइनुपर्ने माग गरेका छन् । ठाउँ हेरेर ३५ देखि ७५ प्रतिशतसम्म भत्ता पाउँदै आएका उनीहरुले असारबाट भत्ता पाएका छैनन् ।

नेपाल पुननिर्माण प्राधिकरणसँग गत १३ गते भएको सम्झौता कार्यान्वयन गर्न प्राधिकरण तयार नभएकाले सामूहिक राजीनामा दिने तयारी गरेको प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिकी उपाध्यक्ष विद्या बरालले बताउनुभयो ।
‘निकै पर्खदा पनि सरकारले हाम्रा माग नसुनेकाले सामूहिक राजीनामा दिन नामावली संकलन गरिरहेका छौं’ बरालले भन्नुभयो ।

पुननिर्माण प्राधिकरणका सिइओ सुशीलकुमार ज्ञवाली र आन्दोलनरत समूहबीच भएको सहमतिमा आन्दोलनको माग सम्बोधन गर्न प्राधिकरण तयार भएको उल्लेख छ । प्राधिकरणले फेरि यस्तो प्रकारको आन्दोलन गर्ने अवस्था आउन नदिने समेत सहमतिमा हस्ताक्षर गरेको छ । प्राधिकरणअन्तर्गत झण्डै ४ हजार इन्जिनियरहरु करारमा कार्यरत छन् । सहमति गराउन नेपाल इन्जिनियरिङ एसोसियसनको पनि पहल रहेको थियो ।

इन्जिनियरहरुको तर्फबाट वार्ता टोलीमा ९ जना थिए । सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि ३ दिनअघिदेखि सञ्चालन गर्दै आएको आन्दोलन १३ गते स्थगित भएको थियो । उनीहरुले सडक प्रदर्शन, विभिन्न कार्यालय घेराउ र कोणसभा गरेका थिए । उनीहरुलाई बबरमहलमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले पुननिर्माणको काममा परिचालन गर्दै आएको छ ।

दोलखामा कार्यरत भैरव धितालले सरकारले दिएको आश्वासनको समयसीमा कटेको बताउँदै भन्नुभयो–‘हामीलाई थुम्थुम्याउने काममात्र भयो, प्राधिकरण र सरकार जिम्मेवार भएनन्, सरकार जिम्मेवार नहुने थाहा पाएको भए आन्दोलन रोक्ने नै थिएनौँ, हामीलाई नराम्ररी फसाइयो ।’

पुननिर्माणमा इन्जिनियर, सव–इन्जिनियर र एसिस्टेन्ट सवईन्जिनियर भूकम्पछिको पुननिर्माणमा खटिएका छन् ।