गाँजाको निहुँमा कारागारमा झगडा !

0
Shares

हेटौंडा ।
भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारभित्र चौकीदारले लागुऔषध कारोबार गरेको पाइएको छ । करिब चार महिनाअघि चौकीदार भएका बुद्धि बललामाले कारागारभित्र लागुऔषध कारोबार गरेको पाइएपछि कैदीबन्दीले उनलाई रंगेहात पक्राउ गरिएको कैदीको दाबी छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा रहेको कारागारमा यही विषयमा आइतबार २ समूहका कैदीबन्दीबीचको विवादले उग्ररुप लिएपछि झगडा भएको छ ।

कारागारमा कैदीबन्दीहरुको कारण बबाल मच्चिएको छ । कारागारका नाइकेहरुका कारण झगडा भएको खुल्न आएको हो । कारागारको माथिल्लो कैदीबन्दी ‘क’ ब्लक र तल्लो ‘ख’ ब्लकका नाइकेहरुको जुँगाको लडाईंले करागारमा झगडा भएको खुल्न आएको छ ।
‘नाइकेहरु डानियल लामा र लामाबीचको लडाईंले कारागारपरिसर तनावग्रस्त बन्यो । कैदीबन्दीबीच केही समय हात हालाहाल भएको थियो,’ करागार सुरक्षार्थमा खटिएका एक प्रहरीले भने ।

कारागारमा विहान करिब ८ बजे कारागारकै नाइकेले गाँजालगायत लागुऔषध कारोबार गर्ने गरेको कुरा बाहिरिएको थियो । कारागारका एक कैदीले नाइके लामाको कोठामा गाँजा रहेको भन्दै घटना मिलाउनसक्ने भएकोले सत्यतथ्य बुझ्न आग्रह गरेका थिए । कैदीबन्दीले घटना बाहिर आएपछि आफूहरुलाई अन्यन्त्र सार्ने योजना भएको भन्दै कारागार प्रशासनले सेटिङ गरेको आरोप लगाएका थिए ।

अर्का नाइके डानियल लामाले लामाको कोठाबाट गाँजाको सानो पोको र मोबाइल भेटिएको बताएका थिए । कारागारका प्रहरीले लामाको कोठामा गाँजाजस्तो देखिने पदार्थ भेटिएको जानकारी दिए । ‘गाँजाजस्तो देखिने पदार्थ छ,’ उनले भने–हामीले ल्याब टेष्ट नगरी गाँजा नै हो भन्न मिल्दैन । ल्याब टेष्ट गराएपछि थाहा हुन्छ ।

चौकीदारलाई रंगेहात पक्राउ गरेसँगै उनलाई कैदीबन्दीले कारागारबाट बाहिर निकालेका थिए । चौकीदारले लामो समयदेखि अखाद्य वस्तु आफूहरुलाई खुवाइरहेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले कुहिएको चामल दिने गरेको, दालमा मैदा मिसाएर पकाउने गरेको दाबी गरेका छन् । यही कुराको गुनासोले नै ठूलो रुप लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कारागारभित्र करिब २५ ग्राम गाँजा र अन्य केही लागुऔषध भेटिएको सुनिए पनि पुष्टि हुन बाँकी रहेको बताउनुभयो । ‘गाँजा भेटिएको र कारोबार हुने भन्ने विषयमा जानकारी पाएसँगै यस विषयमा सम्बन्धितलाई जानकारी गराएको छु,’ प्रजिअ तामाङले भन्नुभयो–कारोबार पुष्टि भए कारबाही हुन्छ । उहाँका अनुसार फेला परेको गाँजा कस्ले ल्याएको र राखेको हो भन्ने अनुसन्धान भइरहेको छ ।

गाँजा कस्ले छिरायो भन्ने विषयमा कैदीबन्दीहरुसँग सोधपुछ र सीसी क्यामेरा फुटेज हेरेर अनुसन्धान चलिरहेको बताइएको छ । कैदीबन्दीहरुले करागारकै कर्मचारीको मिलेमतोमा गाँजा छिराउने गरेको आरोप लगाएका छन् ।

कारागारमा कैदीबन्दी पक्ष र विपक्षमा विभाजित भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको बताइएको छ । भीमफेदी प्रहरीचौकी इञ्चार्ज सन्तमान लामाको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले कारागारको सुरक्षा अवस्था कडा पारिएको र घटनाको विषयमा छानबिन अगाडि बढाइएको बताउनुभयो ।