‘टोर्नाडो’को स्थलगत अध्ययन गर्दै मौसमविद्, मङ्गलबारदेखि मौसम सफा हुने

0
Shares

काठमाडौँ ।
गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ ।

वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले टोलीमा विभागका तीन, ईसिमोडका दुई र द स्मल अर्थ नेपालका एक गरी छ मौसमविद् रहेको जानकारी दिँदै टोली स्थलगत अध्ययनबाट फर्केपछि ‘टोर्नाडो’का बारेमा आधिकारिक जानकारी सार्वजनिक गर्ने बताउनुभयो ।

बुधबारदेखि घटनास्थलमा अध्ययन थालेको विभागका मौसमविद् डा अर्चना श्रेष्ठको नेतृत्वको टोली सम्भवतः सोमबार फर्किेनेछ । अध्ययन विवरण केलाएर एक साताभित्र प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने विभागको तयारी छ ।

विभाग र द स्मल अर्थ नेपालको वैज्ञानिक टोली सेन्टीनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्वीरको अध्ययनबाट बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको निष्कर्षमा पुगेको थियो । सो क्रममा भूउपग्रहबाट प्राप्त तस्बीरका साथै र सञ्चार माध्यम र सामाजिक सञ्जालका तस्बीर एवं भिडियोको पनि अध्ययन गरिएको द स्मल अर्थ नेपालका अनुसन्धान संयोजक पियूष दाहालले जानकारी दिनुभयो ।

भूउपग्रहको तस्बीरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको अनुमान गरिएको छ । टोलीले प्रभावितस्थलमा ड्रोन तथा अन्य क्यामेराबाट क्षतिको भिडियो र तस्बीर लिने तथा पीडित मानिससँग कुरा गरेर सूचना लिएको संयोजक दाहालले बताउनुभयो ।

हावाहुरी प्रभावित क्षेत्र नजिक मौसमी स्टेशन र राडार पनि नभएका कारण विभागले उक्त मौसमी प्रणालीको विस्तृत तथ्याङ्क रेकर्ड गर्न नसकेको हो । तसर्थ विभागले अहिले भूउपग्रहबाट प्राप्त तस्बीर र स्थलगत अध्ययनमा जोड दिएको महानिर्देशक वैद्यले जानकारी दिनुभयो । दुवै अध्ययनपछि उक्त मौसमी प्रणालीको विस्तृत जानकारी प्राप्त हुने विभागको विश्वास छ ।

त्यसपछि ‘टोर्नाडो’ को नेपाली नामाकरण गर्नेसमेत विभागले जनाएको छ । यही चैत १७ गते साँझ बारा र पर्सामा गएको भिषण हुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको थियो । महानिर्देशक वैद्यले बारा र पर्सामा आएको भीषण हावाको वेग १५० देखि २०० किमी प्रतिघण्टा हुन सक्ने अनुमान गर्नुभयो ।

यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन । भविष्यमा यस्ता घटनाको पूर्वसूचना प्रवाह गरी उपयुक्त सतर्कता अपनाउन यस्ता विनाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानको खाँचो रहेको विभागले औँल्याएको छ ।

मङ्गलबारदेखि मौसम सफा हुने

मुलुकमा प्रि–मनसुन क्रियाशिल हुँदा आज देशभरी कै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको छ । मौसममा बदली भई पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी बिहारमा न्यून चापिय क्षेत्र र बंगालको खाडीमा उच्च चापीय क्षेत्र बनेका कारण त्यसको प्रभावले नेपालमा प्रवेश गरेको जलवाष्पयुक्त हावाले मौसममा बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

सोमबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने र पूर्वि तराईका केही स्थानमा बतास चल्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । मङ्गलबारदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने उहाँले जानकारी दिनुभयो ।
रासस