नुवाकोट उवा संघको मतगणना जारी, कार्की प्यानलको अग्रता

0
Shares

नुवाकोट ।
नुवाकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि शनिबार भएको मतगणनाको प्रारम्भीक नतिजा अनुसार ताराबहादुर कार्की निकट प्यानलका उम्मेदवारहरुलाई शुरुवाती अग्रता मिलेको छ ।

मतगणना शुरुदेखिनै अग्रता लिएका कार्की प्यानलका उम्मेदवारहरुले अहिले पनि रमेश श्रेष्ठ प्यानलका उम्मेदवारहरुलाई पछाडी पारिरहेका छन । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी भएको मतदानको मतगणना जारी छ । जारी रहेको मतगणनामा काङ्ग्रेसको समर्थनमा उमेदवार बनेका ताराबहादुर कार्की नेतृत्वको सबै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

आइतबार दिउँसो यो समाचार तयार पार्दासम्म ५ सय १५ मतको गणना गरिएको छ । कार्कीले ३ सय ११ मत र एमाले माओवादी गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठले १सय ९० मत ल्याएका छन् । अध्यक्ष सहित बाँकी पदाधिकारी र सदस्यहरुमा सबैमा कार्की प्यानल सुरुवाति देखिनै अग्रता कायम छ ।

ब्यबसायीक संगठनभित्रको निर्वाचन भएपनी संसदीय निर्वाचन कै हाराहारीमा चर्चा परीचर्चा तथा स्रोतसाधन परिचालन भएकाले यसलाई सर्वत्र उत्सुकताका साथ हेरिएको हो । शनिबार विदुरमा भएको मतदानमा एक हजार ४ सय ६३ मत खसेको सहायक निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिए ।

उनका अनुसार मतदानमा एक हजार ४ सय ५३ मत पदाधिकारी सहित महिला सदस्य तथा खुला सदस्यको लागी खसेको हो भने दश मत पदाधिकारी, महिला सदस्य तथा बस्तुगत सदस्यको लागी खसेको हो । मतदान सम्पन्न भएपछि मत गणनाको लागी राती दश बजेदेखि थालिएको आचार संहिता बनाउने कार्य तथा गणनाको लागी आवश्यक तयारी पूरा भएपछि राती साढे १२ बजेदेखि सुरु गरिएको हो । एकसय १५ मत गणना गर्न बिहान पाँच बजेसम्म लागेको हो ।

मतगणना स्थल विदुरमा दुवै पक्षका समर्थनहरुको उल्लेख्य सहभागिता रहेको छ । सुरक्षा व्यवस्था पनि बाक्लो रहेको छ । गणनास्थलमा उम्मेदवारहरु पनि सक्रिय रुपमा बसिरहेका छन् । दुई पक्ष अन्तरगत कार्कीले नेपाली काङ्ग्रेस र श्रेष्ठले नेकपा निकट ब्यबसायीको नेतृत्व गरेका छन ।