गुहेश्वरी गणमा ७५ प्रहरी दीक्षित       


भक्तपुर, सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा सशस्त्र प्रहरी जवानको १० महीने तालीम समापनको दीक्षान्त समारोहमा ७५ प्रहरी जवान दीक्षित भएका छन् । गणले आज आयोजना गरेको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राईले तालीम समापन गरेका जवानलाई दीक्षित गर्नुभएको हो ।

उहाँले तालीम अवधिमा उत्कृष्ट हुने दीपक पुन मगरलाई खुकुरी र कवाजमा प्रथम हुने रोशन पुरी, चाँदमारीमा प्रथम हुने विजयबाबु कार्की र सहिष्णुता प्रथम हुने वीरबहादुर खत्रीलाई पुरस्कार प्रदान गर्नुभयो । राईले तालीम अवधिमा सिकेको ज्ञानलाई कार्यक्षेत्रमा प्रभावकारी रुपमा प्रयोग गर्न निर्देशन दिनुभयो ।

उहाँले तालीममा सिकेको राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न, देश र जनताको हितमा प्रभावकारी रुपमा काम गर्न, मानव अधिकारको उच्च संरक्षण गर्दै जनताको मौलिक हक अधिकारको रक्षा गर्न सदैव कटिबद्ध रहन आग्रह गर्नुभयो । कार्यक्रममा गुहेश्वरी गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक पुरुषोत्तम थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक बुद्धिनारायण महर्जनलगायतले तालीमको प्रभावकारिता र भावी दायित्वकाबारेमा जानकारी गराउनुभएको थियो ।
रासस