औद्योगिक व्यवसाय विधेयक पारित    


खस्यौली,
प्रदेश नं ५ को प्रदेशसभामा आज औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरिएपछि सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले पर्यटकीय आकर्षण बढाउन सांस्कृतिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिँदै घरेलु उद्योग, रैथाने संस्कृति र खानपान पर्यटकीय आकर्षणका विषय हुन् भन्नुभयो ।

प्रदेशसभा सदस्य कमला विश्वकर्माले प्रदेश नं ५ का कला, संस्कृति र भौगोलिक विविधता पर्यटनको आधार भएको बताउनुभयो । प्रदेश सभा सदस्य फकरुद्दिन खानले विधेयकले आन्तरिक पर्यटकका विषयमा स्पष्ट नगरेको आरोप लगाउनुभयो ।

सैद्धान्तिक छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै पर्यटनमन्त्री लीला गिरीले विधेयकमार्फत धेरै विषयलाई स्पष्ट गर्न खोजिएको जानकारी दिनुभयो ।

त्यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

यसैगरी प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्यले एक दिन बराबरको पारिश्रमिक रकम सहयोग गर्ने सभामुख घर्तीले जानकारी दिनुभयो ।

यस्तै जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ भवन निर्माण कार्यलाई व्यवस्थित एंव नियमित गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गरेको पत्र सभामुख घर्तीले पढेर सुनाउनुभएको थियो ।
रासस