हावाहुरी पीडितलाई स्थानीय सरकारको सहयोग


नेपाल समाचारपत्र, काभ्रे ।
तराईका विभिन्न जिल्लामा गएको हावाहुरीले क्षतिग्रस्त संरचना निर्माण तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने उदेश्यले जिल्लाका स्थानीय सरकारहरुले रकम सहयोग गर्ने निर्णय गरेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय सरकारहरुले समन्वय समिति मार्फत बाराका प्रमुख जिल्ला अधिकारीलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । बैठकमा मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता थियो ।

बैठकमा स्थानीय सरकारहरुले आफ्नो स्वविवेकिय अधिकार अन्र्तगत स्थानीय सरकारको विपद् कोषमा जम्मा भएको रकमबाट रकम उपलब्ध गराउन अनुरोध गरिएको थियो । धुलिखेल नगरपालिकाले यस अघि नै प्रधानमन्त्री अध्यक्ष रहने केन्द्रिय प्रकोप कोषमा रकम जम्मा गर्ने निर्णय गरिसकेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

स्थानीय सरकारहरु मध्ये मण्डन नगरपालिकाले १ लाख ११ हजार १ सय ११, नमोबुद्ध नगरपालिकाले १ लाख ११ हजार १ सय ११, पनौती नगरपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने भएका छन् भने बनेपा र पाँचखाल नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरी सहयोग गर्ने जानकारी गराएका छन् ।

त्यस्तै चौरी देउराली गाउँपालिकाले १ लाख १ हजार १ सय ११, भुम्लु गाउँपालिकाले १ लाख ५ हजार २ सय २५, महाभारत गाउँपालिकाले ५१ हजार १ सय ५१, खानीखोला गाउँपालिकाले ५० हजार १ सय ११, रोशी गाउँपालिकाले ६० हजार, तेमाल गाउँपलिकाले ३० हजार ५ सय ५१ र बेथाञ्चोक गाउँपालिकाले २५ हजार रुपैया सहयोग गर्ने भएका छन् । संकलित रकम बारा जिल्लामै पुगेर हस्तान्तरण गर्ने समन्वय समिति प्रमुख उद्धव केसीले जानकारी दिए ।

यस अघि मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोमा विस्थापितहरुका लागि पनि स्थानीय सरकारले सहयोग गरेका थिए ।