सत्ता !


दीपक खनाल
….फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरूदेखि
दृश्यहरूदेखि
रमाइलोदेखि
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धोजस्तै…
–कवि भूपी शेरचन

उनका कविताका बान्की मलाई निकै मीठा, चोटिला र मार्मिक लागे पनि अहिले म कवि भूपि शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ मा प्रयोग भएका शब्दहरूलाई शतप्रतिशत समर्थन गर्न सक्दिन । कवितामा हास्य र व्यङ्ग्य भएर पनि ‘अन्धो’ शब्दप्रति नै बिमति छ मेरो । यस्ता प्रयोगहरूलाई मेरो पछिल्लो चेतनशील दिमागले स्वीकार्नै सक्दैन । हो, उनको कविता नागरिक आवाज नसुन्ने मदहोश अनि रोम जल्दा बाँसुरीको धुनमा हराइरहने क्रूर र निरङ्कुश शासकहरूका लागि ‘शब्दवाण’ त हो तर प्रयूक्त ‘अन्धो’ शब्दले दृष्टविहीनप्रति अपमान गरेको बोध हुन्छ मलाई । अपाङ्गतासम्बन्धी चेतनामा ध्यान नदिँदा कवि शेरचन यही शब्द प्रयोग गर्न पुगेका हुनसक्छन् किनकि पुरानो सत्ता र समाजले उनलाई यही सिकाएको थियो । उनको दिमागमा यही विजारोेपण गराएको थियो । तथापि यहाँ यो उनको कविता संग्रहको समालोचना गर्न खोजिएको छैन र उद्देश्य यो होइन पनि । चर्चा सत्ताकै हो ।

सत्ता आफैँमा भ्रष्ट र निरङ्कुश हुन्छ । निरङ्कुश सत्ता र शक्ति झन् भ्रष्ट र निरङ्कुश हुन्छ । तपाईँहरूलाई लाग्दो हो सत्ता भनेको सिंहदरबार मात्रै हो, मलाई पनि यस्तै लाग्थ्यो । तर अहिले म आफ्नै पूर्ववत् विचारको खण्डन गर्न चाहन्छु । अहिले त मेरो दृष्टिगोचरले जताततै देख्छ सत्ता । मेरो यही कलम शक्तिशाली सत्ता हो किनकि म मेरो कलमको शक्ति देखाएर तपाईँ निरीह र असहायहरूलाई तर्साइदिन सक्छु । यही कलमको शक्ति देखाएर म चाकडी र भजनकीर्तिनमा लिन हुन सक्छु । मेरै कलम देखेर विभिन्न सत्तासीन र भ्रष्टहरू तर्सन सक्छन् । मेरो भन्दा बढी शक्ति, साधनस्रोत, सम्पत्ति र राज्य संयन्त्रको दुरुपयोगमा रमाइरहेकाहरूले मेरो कलम भाँच्न खोजेर आकाशमा उड्ने मेरा उत्कठ चाहनाहरूको पखेँटा काटिदिन सक्छन् ।

राजतन्त्र रहँदा नारायणहिटी निकै ठूलो सत्ता थियो । अहिले सिंहदरबार सबैभन्दा ठूलो सत्ता हो । अनि सिंहदरबारद्वारा निर्देशित/अनिर्देशित विभिन्न स–साना सत्ताहरू पनि सत्ता नै हुन् । सत्ता सरकारी मात्रै हुँदैन । यो गैरसरकारी पनि हुन्छ । सत्ता संस्थागत मात्रै हुँदैन व्यक्तिगत पनि हुन्छ । सबै सत्ताको बयान गरेर त म कहाँ सकूँला र ! किनकि जताततै देख्छु सत्ता । पाइला–पाइलामा पाउँछु सत्ता । यो एक प्रवृत्ति हो । मानवीय मात्र होइन मानवेत्तर स्वाभाव नै हो यो ।

अलि ठूलो सत्तामा त भत्ता पनि हुन्छ । भत्ता मात्रै हैन लत्ता पनि हुन्छ, लत्ता मात्रै होइन जत्था पनि हुन्छ । अनि त्यही जत्थाको हतियार देखाएर हो तपाईँ र मलाई शासन गर्ने । त्यो जत्थाको भीड देखाएरै कलो न किलोका फूलमाला लगाउन पाइन्छ । चाकडी भजाउन सइन्छ । त्यसैले सत्तामा बस्नुको छाँट र शान नै भिन्नै हुन्छ । तपाईँ र म पनि कामधेन गाई हौँ, त्यही भ्रममा परेर उनीहरूलाई देवता पुज्दछौँ अनि प्रत्येक देउराली देख्नासाथ फूल चढाउँछौँ ।

नेताको सत्ता कम शक्तिशाली सत्ता हो ? हेर्नाेस् त शक्तिमा भएको नेताले कस्तरी रिंगाउँछ कार्याकर्ता र जनतालाई, मतदातालाई ? पत्रकारको सत्ता कलम हो । हेर्नाेस् त कस्तरी धम्की दिन्छ आफ्नो स्वार्थका लागि ? न्यायाधीश र वकिलको सत्ता कानूनी विद्या हो । हेर्नाेस् त कस्तरी दुहुन्छ क्लाइन्टलाई ? कसले भन्न सक्छ चिकित्सक सदाबहार सत्ताधारी होइन भनेर । हेर्नाेस् उसले कस्तरी शासन गर्छ बिरामीमाथि ?

कर्मचारी आफूलाई यो देश नै आफ्नो पेवा हो भन्ने ठान्दै देशकै सिंह सम्झन्छ । सेवाग्राहीलाई राणा र पञ्चहरुले भन्दा पनि बढी शासन गर्छ ।

शिक्षक झन् निरङ्कुश शासक हो । ऊ विद्यार्थीमाथि शासन गर्न पाउँदा आफूलाई संसारकै महान् विजयी ठान्छ । चालक/सहचालक झन् कम खतरा सत्ता सञ्चालकहरू हुन् र ? आफ्नो साधनमा जस्तोसुकै व्यक्तित्व र स्तरका यात्रु चढे पनि के मतलव तिनीहरूलाई ? साहूको निर्देशनमा भेंडा–बाख्रा झैँ जतिसुकै मान्छे कोचेर वा गुन्द्रुक खाँदे झैँ खाँदेर भाडा उठाउन पाएपछि उनीहरूले आफूलाई जनगणतन्त्रै स्थापना गरे झैँ ठान्छन् । म घर, परिवार, श्रीमान/श्रीमती, सडक, गाउँ–गाउँका क्लव, आमा–बा समूह, लोग्ने–स्वास्नी समूह, गर्लफ्रेण्ड, व्वाई–फ्रेण्ड समूह, सहकारी, एनजिओ, आइएनजिओ, पेशागत सङ्गठन, धार्मिक संस्था, साहित्यिक समाज, सरकारी कार्यालय आदि–आदि जहाँ जहाँ पुग्छु त्यहाँ त्यहाँ सत्ताकै उन्माद देख्छु । अलि ठूलो सत्तामा त भत्ता पनि हुन्छ । भत्ता मात्रै हैन लत्ता पनि हुन्छ, लत्ता मात्रै होइन जत्था पनि हुन्छ । अनि त्यही जत्थाको हतियार देखाएर हो तपाईँ र मलाई शासन गर्ने । त्यो जत्थाको भीड देखाएरै कलो न किलोका फूलमाला लगाउन पाइन्छ । चाकडी भजाउन सइन्छ । त्यसैले सत्तामा बस्नुको छाँट र शान नै भिन्नै हुन्छ । तपाईँ र म पनि कामधेन गाई हौँ, त्यही भ्रममा परेर उनीहरूलाई देवता पुज्दछौँ अनि प्रत्येक देउराली देख्नासाथ फूल चढाउँछौँ ।

सत्ता सानो ठूलो जत्रोसुकै होस्, गाउँ या शहर, स्वदेश या प्रदेश जहाँसुकैको होस्, आफ्नोे होस् या अर्काेको, सत्ताको स्वाद साह्रै नै स्वादिलो हुन्छ, मीठो, गुलियो हुन्छ मह/ललीपप भन्दा पनि गुलियो । त्यसैले होला क्रान्ति, समानता, परिवर्तन, एकता, विकासका कुरा गर्नेहरू पनि सत्ताको चास्नी चाखेपछि झिंगा लुट्पुटिए झैँ लुट्पुटिरहन्छन् महरूपी सत्तामा । चिनीरोग लाग्दा समेत गुलियो मन पराइरहन्छन् । बरु औषधि खाएरै बस्छन्, सत्ताको गुलियो चाट्न छाड्दैनन् । तिन्का आँखा भएर पनि तेज र ज्योति गुम्छन् ।

सत्ता यस्तो हतियार हो जुन हतियारले आफ्नै मान्छेलाई तर्साउन र उस्तै परे बर्साउन सजिलो हुन्छ । सत्तामा भए पछि हुकुमी लगाउन पाइन्छ । त्यसैले कहिले त मलाई पनि सधैँ सत्तामा बस्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

सत्ता सानो ठूलो जत्रोसुकै होस्, गाउँ या शहर, स्वदेश या प्रदेश जहाँसुकैको होस्, आफ्नोे होस् या अर्काेको, सत्ताको स्वाद साह्रै नै स्वादिलो हुन्छ, मीठो, गुलियो हुन्छ मह/ललीपप भन्दा पनि गुलियो । त्यसैले होला क्रान्ति, समानता, परिवर्तन, एकता, विकासका कुरा गर्नेहरू पनि सत्ताको चास्नी चाखेपछि झिंगा लुट्पुटिए झैँ लुट्पुटिरहन्छन् महरूपी सत्तामा । चिनीरोग लाग्दा समेत गुलियो मन पराइरहन्छन् । बरु औषधि खाएरै बस्छन्, सत्ताको गुलियो चाट्न छाड्दैनन् । तिन्का आँखा भएर पनि तेज र ज्योति गुम्छन् ।

तर एउटा कुरा भन्नै मन लाग्छ, यो ढोँगी संसारमा एकातिर मानअधिकारको ढोँग रचेर, शान्तिको मन्त्र जपेर अर्काेतिर हतियारको कारखाना पनि त्यसैका लागि खोलिएको हो । त्यही सत्ताका लागि मानव नरसंहार मच्चाइएको हो । सेना, प्रहरीहरू र हतियार त्यसैका लागि खडा गरिएका हुन् । मानवता देखाउने दाँत र ढोंग मात्र हो । नत्र के संसारका ती ढोंगी गौतम बुद्धहरू आफ्नो हतियार महासागरमा बगाएर निःशस्त्र बन्न सक्छन् ? संसारका मेहनतकश आजावविहीनहरूलाई जुधाउन र मार्न छाड्न सक्छन् ? विना सुरक्षा खुलमखुला जनताको माझमा हिड्न सक्छन् ?

तपाईँ र मजस्ता ज्यूमा घ्यूमा लगाउन नसक्ने र कसैको सत्तामा अटाउन नसक्ने अराजक, असभ्य, पाखेहरू यी सबै सत्ताबाट सधैँभरि शोषित–पीडित भइरहनेछौँ सायद यो मानव चोला रहेसम्म, यो मान्छे भन्ने सर्वश्रेष्ठ प्राणी भएसम्म ? त्यही भएर त भूपिले त्यस्तो लेखे नि ! तैपनि मलाई अहिले नयाँ–नयाँ खालका सत्ताधारीदेखि रीसै उठ्दैन । घृणा नै लाग्दैन । किनकि सत्ता भनेकै भ्रम हो र अरुलाई भ्रममा राख्ने पेशा हो । किनकि जोगी हुन सबैले कान चिर्नैपर्छ, खरानी घस्नैपर्छ । आखिर सत्तामा बस्न र बस्नेका पनि त्यही एउटै त हुन्छ नि चरित्र ! त्यसैले म त एकदम साधु सन्त महन्त जस्तो भाको छु । इदि अमिन, मुसोलिनी, जार शाही, इण्डियनी, नेपालकै राणा पञ्च, राजावादी, प्रजातन्त्रवादीप्रति घृणै लाग्दैन । राणाहरूले लखन थापा, कृष्णलाल अधिकारी सुव्बा, पञ्चहरू रामकुमार वान्तवा, प्रजातन्त्रवादीहरूले कृष्ण सेनलाई मारेर ठीकै गरेका रहेछन् जस्तो लाग्छ बरु ती दूरदर्शी रहेछन् किनकि तिनीहरूले नमारेको भए लखन, सुव्वा, बान्तवा अनि सेनहरू कहाँ बाँच्न सक्थे र ! सधैँका लागि मर्थे । बरु म साधूलाई पनि त्यसरी नै मारिदिएहुन्छ जस्तो लाग्छ किनकि म पनि बाँचेरै मर्न चाहन्छु, ।