स्थानीय तहमा स्वास्थ्यकर्मी अभाव, जनप्रतिनिधिहरु स्वास्थ्यप्रति संवेदनशील नभएको गुनासो

0
Shares

हेटौंडा ।
मकवानपुरका दश वटै स्थानीय तहमा स्वास्थ्यकर्मी अभाव हुँदा पनि सेवा जेनतेन चलिरहेको छ । स्थानीय तहका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा रहेर समन्वय गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा उपचार सेवा दिने स्वास्थ्यकर्मी अभावका कारण स्वास्थ्य सेवामा पहुँच पुग्न नसकेको जनप्रतिनिधिले बताएका छन् ।

हरेक स्थानीय तहका वडासम्म स्वास्थ्य चौकी निर्माण नहुँदा ‘सबैमा स्वास्थ्यको पहुँच’ भन्ने नारा व्यवहारमा लागु भएको देखिँदैन । प्रदेश–३ का ३३ प्रतिशत वडामा स्वास्थ्यचौकी निर्माण भएका छैनन् ।

देश संघीयतामा गइसकेपछि गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि स्थानीय तहमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पर्याप्त स्वास्थ्यकर्मी छैनन् । राज्यसंरचनामा परिवर्तनसँगै स्वास्थ्य संरचनामा भएको फेरबदलले स्वास्थ्यमा जनशक्ति अभाव झन् बढेको छ । पुरानै संरचनामा स्वास्थ्यकर्मी अभाव भइरहेको अबस्थामा हरेक स्थानीय तहमा १५ बेडको अस्पताल बनाउने सरकारी योजनाका कारण यस क्षेत्रमा थप जनशक्ति चाहिएको हो ।

देशभर ३७ हजार बढी स्वास्थ्यकर्मी रहे पनि जनतालाई स्वास्थ्यसेवा प्रदान गर्न अप्ठ्यारो भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रत्येक स्थानीय तहले कम्तिमा १५ बेडको अस्पताल स्थापना गर्ने सरकारी निर्णयले अझ धेरै स्वास्थ्यकर्मी आवश्यक पर्नेछ ।

हाल देशभर ३७ हजार स्वास्थ्यकर्मीमध्ये जम्मा २ हजारमात्र विशेषज्ञ चिकित्सक छन् । यही अबस्थामा प्रत्येक स्थानीय तहको अस्पतालमा विशेषज्ञ चिकित्सक नपुग्ने अबस्था छ । स्थानीय तहमा स्थापना हुने अस्पताललाई समेत गरी हाल ४ हजार बढी विशेषज्ञ चिकित्सक आवश्यक देखिन्छ ।

स्वास्थ्यमा पहुँचको नारासाथ शहरमा कार्यक्रम गरिए पनि उपचार नपाएकै कारण घरमा थलिनुपर्ने अबस्था अझै गाउँगाउँमा छ । गाउँ र नगरका बिरामी पीडित भइरहेको बेला स्वास्थ्यकर्मीमा स्थानीय तहका जनप्रतिनिधि स्वास्थ्यप्रति संवेदनशील नभएको गुनासो बढेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भन्दा पनि जनप्रतिनिधिहरु भौतिक पूर्वाधारका क्षेत्रमा बढी केन्द्रित भएको स्वास्थ्यकर्मीको आरोप छ ।

एक–दुई जनाले सबै कार्यक्रम गर्न समस्या भएको उनीहरुले बताए । उनीहरुले भने–कार्यक्रम धेरै छन् तर, कर्मचारी हामी एक वा दुई जनाले मात्र काम गर्न निकै समस्या भएको छ । उनीहरुले स्वास्थ्यका कतिपय कार्यक्रममा आपसमा समन्वय र बुझाइको कमी महसुस भएको अनुभव पनि सुनाए ।

प्रदेश–३ को स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा विश्व स्वास्थ्य दिवसका अवसरमा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच–सबैका लागि स्वास्थ्य’ विषयक शनिबार हेटौंडामा भएको अन्तक्र्रियामा यस्ता गुनासो गरिएका हुन् । हरेक गाउँका कुनाकाप्चामा बसेका नागरिकका लागि स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्यकर्मी लाग्नुपर्ने कार्यक्रममा बताइयो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति १० हजार जनसंख्यामा ३ जना चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी हुनुपर्ने व्यबस्था छ । यसरी विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मान्दा एक चिकित्सकले ३ हजार नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्नुपर्छ ।

तर, २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । उक्त जनसंख्यालाई आधार मानेर हेर्दा हाल एक चिकित्सकको भागमा २२ हजार जनसंख्या पर्ने देखिन्छ । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १९ हजारले बढी हो ।
स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्यलाई विकासबादी एजेण्डा बनाएर अगाडि बढाउनु आवश्यक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका जनस्वास्थ्य प्रशासक राजेन्द्रकुमार गिरीले कार्यक्रममा बताउनुभयो ।