देउमाईमा ‘देउमाई साहित्य पर्यटन महोत्सव’ शुरु

0
Shares

इलाम ।
साहित्यको माध्यमबाट पर्यटन प्रबद्र्धनमा टेवा पुरयाउने उद्येश्यले पश्चिमी इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा शनिबारबाट ‘देउमाई साहित्य पर्यटन महोत्सव २०७५’ सुरु भएको छ । प्राकृतिक, धार्मिक र साँस्कृतिक दृष्टिले सोहि नगरपालिका महत्वपूर्ण भएपनि प्रचार प्रसार लगायत बिभिन्न कारणले ओझेलमा छ ।

सो क्षेत्रको पर्यटन बिकाससंगै अन्य बिभिन्न बिकासका आयामहरु सृजना गर्ने उद्येश्य बमोजिम महोत्सवको आयोजना गरेको आयोजक समाजका लागि युवा नामक संस्थाले जनाएको छ । आइतबारसम्म चल्ने महोत्सवको पहिलो दिन शनिबार डा.अभि सुवेदीको प्रवचन, देउमाई क्षेत्र १० बर्षे योजनाका बारेमा सोही नगरपालिकाका मेयर सुर्य पोख्रेलले प्रस्तुत गरे । यस्तै पत्रकार नारायण वाग्ले, साहित्यकार राजन मुकारुङ, साहित्यकार राजन माङलाक, मुनाराज शेर्मा, हाङयुग अज्ञात लगायतसंग समसामयिक बिषयका साथै भाषा र साहित्यका विषयमा पत्रकार समिरवावु कट्टेलले बहस गरेका थिए ।

महोत्सवमा (आज) आइतबार साहित्यकार कुन्ता शर्मा र सिमा आवाससंग सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा शिर्षकमा वहस हुनेछ भने, पत्रकार बसन्त बस्नेतले युवा अवसर र नेतृत्वका विषयमा नेकपाका सांसद योगेश भट्टराई र नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौड्यालसंग बहस गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष मोती गौतमले जानकारी दिए ।

यस्तै चिन्तक विश्लेषक प्रदिप गिरीले साहित्य र राजनीतिका विषयमा प्रवचन दिनेछन् भने अभिनेता दयाहाङ राई र वरिष्ठ मुर्तीकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउने कार्यक्रम पनि आइतबार नै रहेको छ । देउमाईनगरपालिका, पर्यटन बोर्ड, प्रज्ञा प्रतिष्ठान लगायतको सहयोगमा सुरु भएको महोत्सवमा प्रदेश नम्बर १ का स्रष्टाहरुले कविता बाचन गर्नुका साथै गायक हेमन्त शर्मा लगायतका कलाकारबाट साँगीतिक कार्यक्रम पनि महोत्सवको अन्तिम दिन अर्थात (आज) आइतबार हुने कार्यक्रम छ ।

यो महोत्सवले जिल्लाको पश्चिमी क्षेत्र अन्तर्गत सोहि नगरपालिका क्षेत्रका नागिडाँडा, गुफाथुम्कि, पानीटारको चिया बगान, गजुरमुखिधाम, शिद्धिथुम्का, जटेश्वर महादेव, नागेश्वरी, कुहिभिर जस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तब्यको प्रचार प्रसार राष्ट्रिय स्तरसम्म हुने अपेक्षा आयोजकले राखेको छ ।