एनएसजेएफको अध्यक्षमा देवेन्द्र निर्वाचित


काठमाडौं, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा नयाँ अध्यक्षका रूपमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन्।

शुक्रबार भएको एनएसजेएफको १५औं चुनावी साधारणसभाले दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। देवेन्द्रले निकटम प्रतिद्वन्द्वी प्रकाश तिमल्सिनालाई १४ मतले हराएका हुन्। ९६ सदस्यले मत दिएकोमा देवेन्द्रले ५५ मत र प्रकाशले ४१ मत प्राप्त गरेका थिए।
यस्तै द्वितीय उपाध्यक्षमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। दुई जना निर्वाचित हुनेमा ध्रुव तुलाधरले ७१ र निरञ्जन अधिकारीले ४७ मत ल्याएर विजयी भए। अर्का प्रत्यासी श्रीलोचन राजोपाध्यायले ४१ मत प्राप्त गरेका थिए।

यसैगरी महासचिवमा प्रज्ज्वल वली, सचिवमा गोविन्द रेग्मी तथा तीन सदस्यमा दिलबहादुर तामाङ, हिमविक्रम केसी र अनिल मल्ल ठकुरी निर्वाचित भएका थिए। सदस्यमा सात प्रत्यासीद्वारा उम्मेदवारी दिइएको थियो। यसअघि प्रथम उपाध्यक्षमा सञ्जीव सिल्पकार, कोषाध्यक्षमा अञ्जन खड्का र महिला सदस्यमा मुना कार्की निर्विरोध निर्वाचित भएका थिए।