प्रदेश ७ र प्रदेश ५ विजयी


नेपाल समाचारपत्र
काठमाडौं
प्रदेश ७ र प्रदेश ५ ले यू–१६ क्रिकेट लिगअन्तर्गत शुक्रबार जित दर्ता गरेका छन्।
शुक्रबारको पहिलो खेलमा प्रदेश ७ ले प्रदेश २ लाई ५ विकेटले पराजित गर्यो। टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन जोडेको थियो। टोलीका लागि प्रशान्त सिंहले ६० बलमा ६ चौका र १ छक्कासहित नटआउट रहँदै महत्वपूर्ण ६० रनको योगदान दिए। पर्शुराम यादवले ७२ बलमा ४ चौकासहित ५० रन जोडे। प्रदेश ७ को बलिङमा नरेन साउदले ३ तथा सुनिल लोथ्यालले २ विकेट लिएका थिए।

प्रदेश ७ ले १ सय ७० रनको लक्ष्य २७औं ओभरमा ५ विकेट गुमाउँदै प्राप्त गर्यो। सुवास ऐरले ६९ बलमा १० चौका र २ छक्कासहित ८० रनको योगदान दिएपछि टोली जिततर्फ लम्केको थियो। रहिल भण्डारीले २७ तथा सुनिल चन्दले १६ रन जोडे। प्रदेश २ का बलरमा प्रशान्त सिंहले २ विकेट प्राप्त गरेका थिए।

त्यस्तै दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश ४ लाई ८ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ रोजेको प्रदेश ४ ले २८ दशमलव ५ ओभरमा अलआउट हुँदै ९० रन जोड्यो। ओपनर अर्जुन कुमालले २३, आदित्य थापा २१ र शरद तिवारीले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। प्रदेश ५ का लागि अभिषेक गौतम एक्लैले ५ विकेट लिए। विशालविक्रम केसी र सुरज खड्काले २–२ विकेट हात पारे।

जवाफमा प्रदेश ५ ले १५औं ओभरमा २ विकेटको नोक्सानीमा ९१ रनको लक्ष्य पार गरेको थियो। ओपनर सुशान्त थापाले ४२ बलमा नटआउट रहँदै ४३ रन जोडे। उनले ७ चौका प्रहार गरेका थिए। दिवस सेन्चुरीले २२ तथा अमर मिश्राले १८ रनको योगदान दिए। प्रदेश ४ का नितेश गिरी र आदित्य थापाले १–१ विकेट लिए। यस हारसँगै प्रदेश ४ प्रतियोगिताबाट बाहिरिएको छ।