नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत प्राधिकरणद्वारा तनहुँको मार्कीचोकमा निर्माण गरिएको १३२÷३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ।
उक्त सबस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारणलाइन आयोजनाको निर्माण पनि सकिएको छ। मध्यमस्र्याङदी –दमौली– मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन यसअघि नै सञ्चालनमा आइसकेको छ।
मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटक–पटक लाइन ट्रिप हुने, भोल्टेज नहुनेलगायतका समस्यामा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।
‘दमौली–डुम्रे –आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, लामो दूरीबाट विद्युत् आपूर्ति हुँदा धेरै समस्या थियो। अब मार्कीचोक सबस्टेसनबाट आँबुखैरेनी हुँदै गोरखातर्फ विद्युत् जान्छ, जसबाट ३३ केभी लाइनको दूरी कम हुँदा प्रणालीको चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत् आपूर्ति भरपर्दो हुने छ,’ उहाँले भन्नुभयो–‘मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनमार्फत प्रवाह हुने विद्युत्लाई निर्माणाधीन मस्र्याङदी–मातातीर्थ २२० केभी प्रसारणलाइन आयोजनाको १३२÷२२० केभी सबस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा विद्युत् ल्याउन पनि सकिन्छ।’
मस्र्याङदी–मातातीर्थ २२० केभी प्रसारणलाइन आयोजनाले अहिले मार्कीचोकमै १३२÷२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ। मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारणलाइन आयोजनाका प्रमुख शुभारम्भविक्रम शाहका अनुसार, अब मध्यमस्र्याङदी र दमौलीबाट आउने १३२ केभी प्रसारणलाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारणलाइनमार्फत तल्लो मस्र्याङदीतर्फ पनि निकाल्न (लुप आउट) गर्न सकिने छ। आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमस्र्याङदी तथा दमौली सबस्टसनमा क्रमशः १ र २ वटा बे र तल्लो मस्र्याङदीमा जीआइएसवे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग आर्थिक वर्ष २०६९÷७० मा ठेक्का सम्झौता गरेको थियो।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋण रहेको आयोजनाको अनुमानित लागत ६० करोड रुपियाँ थियो। अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको प्रमुख शाहले बताउनुभयो। प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ।
मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ।
चालू आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन्। सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारणलाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारणलाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ।
प्रतिक्रिया