रमाइलो चौका दाउको बिदाइ


पाको उमेरका ४ पात्र छन्। तीमध्ये धेरैजसोका पेसा भनेकै जालसाँझी र बेइमानी हो। एउटाचाहिँ राजनैतिक नेता हो, जो एकपटक मन्त्री भएपछि कहिल्यै फेरि झण्डावाला गाडीमा बस्न पाउँदैन।

चारै पात्र एउटै कोलनीमा बस्छन्, एक अर्कासँग साह्रै मिल्छन् र जुवा तास खेल्नेदेखि लिएर परस्त्रीलाई आँखा लाउनेबाहेक अरू केही काम गर्दैनन्। दैनिक उटपट्याङ काम गर्ने, प्रहरीको आँखामा समेत छारो हालेर जुवा तास खेल्ने अनि मदिरा सेवन गर्ने नै उनीहरूको दैनिकी हुन्छ। जुवा तास खेल्न यति माहिर छन् कि प्रहरी छापा मारेर पनि नभेटाओस् भनेर मिनी टाटा नै रिजर्भ गरेर त्यसमै जुवा खेल्नसमेत उनीहरू पछि पर्दैनन्। डान्सबारमा गएर जहिल्यै मध्यरातसम्म नसामा झुल्छन् र लफडा मच्चाउँछन्। एउटा अधवैंशैचाहिँ स्त्री भनेपछि भुतुक्कै, र्यालै काटिरहने।

र्यालै काढ्नेचाहिँ उहीमात्र भए पनि स्त्रीमा आँखा लगाउनेचाहिँ सबै हुन्। जब कोलनीमा एक सुन्दरी युवतीको प्रवेश हुन्छ। चारै जना त्यही युवतीको पछि लाग्छन्। युवतीको नजिक पनि हुन्छन्। जब ती युवतीले चारै जनालाई आफू उसको बच्चाको आमा हुन लागेको सुनाउँछे, सबै तनावमा आउँछन्। राजनैतिक नेता त बेहोस भएर अस्पतालै पुग्छन्। त्यसपछि के हुन्छ, त्यसका लागि भने चौका दाउ हेर्नुपर्ने हुन्छ। तर यो फिल्मले हालै मात्र नेपालबाट भने बिदा लिएको छ।

गत बुधबार राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरको विग सिनेमामा बाइ बाइ प्रिमियर गर्दै चौका दाउले नेपाल प्रदर्शनबाट बिट मारेको छ। फिल्मका प्रस्तुतकर्ता शम्भुजित बासकोटाका अनुसार यो फिल्म नेपालमा रिलिज टुंग्याउँदै अब विदेश रिलिजमा लाग्दै छ।

पुणेन्द्रु झाद्वारा निर्देशित फिल्मको कथा रोचक छ, पटकथा सुहाउँदो भए पनि कतै कतै लिक छोडेको छ, संवाद रोचक छ। गीत संगीत फिल्मको बलियो पक्ष बन्न पुगेको छ भने कोरियोग्राफी आकर्षक छ।

छायांकन सबल लाग्छ भने सम्पादनमा कहीं कहीं कैंची लगाउने ठाउँ छोडिएको छ। कलाकारहरूले राम्रो अभिनय क्षमता प्रदर्शन गरेका छन्। समग्रमा फिल्म रोचक बनेको छ, हेरुन्जेल रमाइलै लाग्छ।

चौका दाउभित्र
निर्माण संस्था ः सौर्य प्रोडक्सन
निर्माता ः सौर्यजित बासकोटा र मनोज राजभण्डारी
निर्देशक ः पुर्णेन्द्रु झा
परिकल्पना, कथा र संगीत ः शम्भुजित बासकोटा
पटकथा ः अभिमन्यु निरवी
गीत ः श्रीपुरुष ढकाल र दयाराम पाण्डे
कोरियोग्राफी ः वसन्त श्रेष्ठ र भीमफेदी गाइज
द्वन्द्व ः रोशन श्रेष्ठ
छायांकन ः दीर्घ गुरुङ
सम्पादन ः मित्र डी गुरुङ
कलाकारहरू
सन्तोष पन्त, तैयव शाह, विल्शन विक्रम राई, रवीन्द्र झा, वर्षा राउत, रोशनी सापकोटा, सुमिता श्रेष्ठ ठाकु, निर्मल शर्मा, सोनिका केसी आदि
नयाँ प्रस्तुति ः अजश्र ढुंगाना