रोकिएको एसइइको परीक्षा प्रदेश २ मा पुनः संचालन


कृष्णउदास खनाल, वीरगन्ज ।
प्रश्नपत्र आउट भएपछि स्थगित भएको प्रदेश २ मा एसईईको बाँकी परीक्षा पुनः शुक्रबारबाट शुरु भएको छ ।

यसअघि एसईईअन्तर्गत विज्ञान र समाजिक विषयको पश्नपत्र एक दिनअगावै बाहिरिएपछि परीक्षा बोर्डले प्रदेश २ का आठवटै जिल्लाको विज्ञान र समाजिक सहित अन्य बाँकी विषयको परीक्षाहरु स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान र समाजिक विषयलगायतको बाँकी परीक्षा चैत २२ गते अर्थात शुक्रबारबाट २९ गतेसम्मको तालिका निर्धारण गरिएको छ ।

माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समिति प्रदेश २ का संयोजक प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीको अध्यक्षतामा बसेको बैठकले विगतका जस्तो अवान्छित गतिविधि दोहोरिन नदिन एवं परीक्षा मर्या्दित बनाउन ८ वटा निर्णय गरिएको प्रदेश २ का शिक्षा निर्देशक रामाकान्त शर्माले जानकारी दिनुभयो ।

बैठकले परीक्षामा सुरक्षा सतर्कता बढाउने, केन्द्राध्यक्ष बाहेक परीक्षा निरीक्षक, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी र सहयोगी समेतलाई मोबाइल प्रयोग निषेध गर्ने निर्णय गरेको थियो । यस्तै प्रश्न पत्र रुजु गर्दा पश्नपत्र भण्डारण गरेको कोठामा जाने बेला केन्द्राध्यक्षलाई समेत मोबाइल प्रयोगमा रोक लगाइएको थियो ।

अघिल्लो परीक्षाहरुमा प्रश्नका उत्तरहरु कार्बन कपी बनाइ वितरण गरिएको, केही कम्प्यूटर प्रिन्टबाट छापिएको भेटिएको हुनाले सुरक्षाकर्मीले कार्बन कपी निर्माण गर्ने व्यक्ति तथा प्रिन्ट गर्ने उपकरणसहित नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

केही केन्द्रमा परीक्षा हलमा अनियमित कार्य रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रुपमा नियुक्ति गर्ने, परीक्षामा खट्न नियुक्त गरेका सबै कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको विवरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न निर्देशन दिइएको छ ।शुक्रबारको परीक्षामा धनुषमा दुईजना बिद्यार्थी पक्राउ परेपनि अन्य जिल्लामा भने शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको छ । परीक्षा स्थगित भएको बिरोधमा बिद्यार्थीहरुले पर्सा लगायतका जिल्लाहरुमा प्रदर्शन गर्दा केही बिद्यार्थी सामान्य घाइते पनि भएका थिए ।

हावाहुरी पीडित बिद्यार्थीलाई अखिलको साथ

एसइइको परीक्षा दिने तयारीमा रहेका बिद्यार्थीहरु हुरीले वस्ती उजाड बनाएपछि अन्यौलमा परेका थिए तर उनीहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरस्ववियु) विद्यार्थी नेताले साथ दिएका छन्। चार दिनदेखि हुरी प्रभावित वस्तीमा एसईई परीक्षार्थी खोजिरहेका अनेरस्ववियु र अनेरस्ववियु क्रान्तिकारीले १३ परीक्षार्थीलाई शुक्रबार परीक्षा दिने वातावरण बनाइ दिएका हुन् ।

आइतबार आएको हुरीले बढी क्षति र्पुयाएको बाराको फेटा गाउँपालिको पुरैनिया र भलुईभरवलियाका १३ जना विद्यार्थीलाई अखिलका विद्यार्थी नेताले परीक्षा दिनका लागि आवश्यक सामाग्री उलपब्ध गराएर केन्द्रसम्म र्पुयाएका छन्।पुरैनिया र भलुई भरवलियाका परीक्षा केन्द्र प्रसौनी गाउँपालिकाको खुटवा प्रसौनीमा रहेको छ।

परीक्षार्थीलाई परीक्षा अवधिभर परीक्षा केन्द्र नजिक बस्न र खानको व्यवस्था समेत मिलाएको अखिल केन्द्रीय सचिव तथा प्रदेश २ की इन्चार्ज आरती लामाले बताइन्। हुरीले घर भत्काउँदा कतिपय विद्यार्थीको साथमा प्रवेश पत्र समेत छैन्। प्रवेश पत्र नभएका विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तत्काल परीक्षा दिने वातारण बनाएको लामाले बताइन्। यसअघि हुरी प्रभावित वस्तीमा पुगेर अनेरस्ववियुले एसईई परीक्षार्थीलाई टर्च लाइट वितरण गरेका थिए।

अखिलका महासचिव ऐनबहादुर महर, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, केन्द्रीय सचिव सूर्यनारायण साहसहित अखिलका विद्यार्थी नेताले टर्च वितरण गरेका हुन्।