प्रतिपक्षको काम बिरोधको नाममा बिरोध मात्र गर्ने होइन: कांग्रेस नेता शाही


धनवीर दाहाल,रुकुम
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्ष भनेको सरकारको रचनात्मक सहयोगी भएको बताउनुभयो ।

जे गरे पनि बिरोध गर्ने संस्कारको अन्त्य हुनुपर्ने बताउनुहुँदै नेता शाहीले राम्रो काम गरेपछि सहयोग र नराम्रो गरे बिरोध गर्नु पर्नेमा जोड दिनुभयो । पार्टीको काममा रुकुम पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शाहीले प्रेस युनियन रुकुम पश्चिमले गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।

प्रतिपक्षले राम्रो प्रस्ताव ल्यायो भने सत्ता पक्षले पनि त्यसको सदुपयोग गर्नुपर्ने उहाँको भनाई छ । बारा, पर्सामा भएको प्राकृतिक प्रकोपमा कर्णाली प्रदेश सांसदको चार दिनको पारिश्रमिक सहयोग राहत कोषमा जम्मा गर्न आफुले प्रस्ताव गरेको तर सत्ता पक्षका सांसदले नमानेको प्रसंङ्ग औंल्याउनुहँदै नेता शाहीले प्रतिपक्षको नेताको राम्रो प्रस्तावलाई पनि अंगिकार गर्न सिक्नुपर्छ भन्नुभयो ।

यस्तै नेता शाहीले वर्तमान सरकारले दुई तिहाईको दम्ब देखाएको तर जनतालाई अनुभूत हुने गरी भने केही गर्न नसकेको आरोप लगाउनुभयो ।

नेपालको तथ्यगत आधारलाई ख्याल नगरी सरकार भावनामा बहकिएको भन्दै उहाँले संघले प्रदेश सरकारको अधिकार कुन्ठीत गर्दा प्रदेश सरकार सबभन्दा कमजोर देखिएको पनि बताउनुभयो । फरक प्रसंगमा उहाँले पार्टीको आन्तरिक कलह पुरानै रोग भएको धारणा राख्नुभयो । कांग्रेसको जन्म कलहबाटै जन्मीएकोले सामान्य लाग्न थालेको उहाँको भनाई छ ।

उहाँले शनिबार बस्ने केन्द्रीय समितिको बैठकमा विधान परिमार्जनको विषयमा छलफल नहुने तर आन्तरिक समस्याको समाधान भने गर्नेुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “केही पार्र्टी सभापतिको अहिले त्यही विषयमा असमति देखियो । यो विषयमा ढिलोचाँडो निकास निक्लिएला, निक्लनैपर्छ तर शनिबार बस्ने बैठकमा नै यस विषयमा छलफल हुने संभावना छैन ।”