लोकभाषी पुस्तक फातसुङ


काठमाडौं , नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास फातसुङ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे । भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने उनको भनाइ छ । तिनले मात्र क्रान्ति गर्न सक्छन्, जोसँग पेट छैन भन्ने दृष्टिकोणलाई समेत पुस्तकले उजागर गर्न खोजेको उनले बताए । जुन क्षेत्रमा निजी सम्पत्तिको प्रभाव परिरहन्छ, त्यति बेलासम्म क्रान्तिले पूर्णता नपाउने पनि उनको भनाइ छ । उनले भनिन्, “भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ । राजनीतिक चेतनाको सूत्रधार हो, भाषा । र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन् । त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ ।”

पुस्तकमा ठेट भाषाले महत्व पाएको छ । भाषामा समृद्धिका लागि फातसुङ जस्ता पुस्तकले महत्वपूर्ण योगदान दिन सक्ने उनले बताइन् । यसले लोकभाषालाई जीवन्त राख्न पनि सघाउने उनको भनाइ छ । यो पुस्तकले त्यस्तो कथा बोक्छ, जसले धारा १४४ र गाउँमा आउने धाराको फरकपन छुट्याउन सक्दैनन्, उनले भनिन् ।

अर्को वक्ता संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए । साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ ।

‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ,’ संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ ।’ यसबाट पनि यो पुस्तकको महत्ता बुझ्न गाह्रो छैन । दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने संग्रौलाको भनाइ छ ।

सानो समुदाय, लेप्चा यो पुस्तकको नायक हो । नेपालमा राजनीतिक क्षेत्रमा चटके रहे जस्तै गोर्खाल्यान्ड आन्दोलनमा पनि त्यस्ता पात्र रहेको उनले बताए । पुस्तकले यहाँका पात्रहरुको पहिचानलाई पनि उत्तिकै प्राथमिकतासाथ समेटेको उनको भनाइ छ । यहाँ ठूलो पात्र अर्थात् गोर्खाल्यान्डको नेतालाई मात्र प्राथमिकता दिइएको छैन ।

उनले भने, “छुदेन काविमोको फातसुङ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरुको कारुणिक र त्रासद अभिलेख हो । आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्तकथा । सरल वृत्तान्त र चित्रमयभाषाको सुन्दर समिश्रण । रुचिकर र आनन्दमयी ।”
लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे बताए, “फातसुङ दार्जिलिङको कथा हो । १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो ।

त्यस आन्दोलनमा सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारांै मान्छेको सपना भत्काइयो । फातसुङ त्यही सपनाहरुको कथा हो । १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ । यो कथा त्यही समाजको कथा हो । ‘नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ ? दार्जिलिङ सहर बत्तीको लहर वैकुण्ठ जस्तै छ ।’ के आजको दार्जिलिङ यो गीत जस्तै छ ता ? वा दार्जिलिङको कथा अरु नै केही छ ता ? त्यही देखाउने कोसिस उपन्यासमार्फत गर्न चाहेको छु ।”

प्रकाशक अजित बरालले भने, “काविमोको लेखन शैली यति विशिष्ट, यति पृथक् छ किफातसुङको पहिला दुईपेज पढ्नेबित्तिकै अति उत्साहित भएर मैले लेखकलाई फोन गरेको थिएँ र भनेको थिएँ, ‘उपन्यास राम्रो होला जस्तो छ !’ अनि पछि पढ्दै गएपछि त कायलै भएको थिएँ । मलाई लाग्छ, यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति हाम्रो रुचि जगाउनेछ ।”
उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३०० रुपैयाँ रहेको छ ।