मदरसालाई उच्च शिक्षासम्म मान्यता दिनुपर्ने माग


सीताराम चौधरी, कपिलवस्तु,

मदरसालाई उच्च शिक्षासम्म सरकारी मान्यता दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । मूल प्रवाहीकरणमा आएका मदरसालाई सरकारले आधारभूत तहको ८ सम्म मात्र मान्यता दिएकाले उच्च शिक्षासम्म मान्यता दिनुपर्ने मुस्लिम अगुवाहरुले माग गरेका हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित जियाउल उलूम अल सल्फियाको वार्षिकोत्सवको अवसरमा राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकूफी, महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’, मुस्लिम अगुवा मौलाना खुर्शिद अहमद सल्फी, मौलाना अब्दुल रसिद लगायतले मदरसा डिग्रीलाई मान्यता दिनुपर्ने जोडदार माग राख्नुभयो । जिल्लाको कृष्णनगरस्थित नेपालकै जेठो मदरसा जामिया सिराजूल उलूम अल सल्फियालाई डिग्रीसम्मको मान्यता दिनुपर्ने प्रवक्ता एवं राष्ट्रिय मदरसा संघका महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ ले माग राख्नुभयो । मदरसाले उच्च शिक्षाको मान्यता नपाउँदा अल्पसंख्यक मुस्लिम बालबालिकाको डिग्रीको प्रमाणपत्र कागजको खोस्टोमा परिणत हुन पुगेको गुनासो गर्नुभयो ।

कार्यक्रममा बालबालिकालाई पुरस्कार वितरण गर्दै प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले मदरसा शिक्षालाई मुस्लिम बालबालिकाको शिक्षाप्रति आफू गम्भीर रहेको बताउनुभयो । प्रदेश सांसद के.सी.ले मदरसा शिक्षालाई उच्च तहसम्मको मान्यताका लागि आफूले भरपूर प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि रहनुभएका के.सी.ले अबको केही दिनमै प्रदेश शिक्षा विभागमा यस विषयमा बृहत छलफल गरी कार्यान्वयनका पक्षमा जाने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले मदरसा शिक्षालाई व्यस्थित बनाउन नगरपालिकाले विभिन्न योजना संचालन गरिरहेको उद्घोष गर्नुभयो । मूल प्रवाहमा नआउँदा मदरसामा अध्ययनरत मुस्लिम बालबालिकाको भविष्य अन्धकारमय बनेकोप्रति आफू सम्बेदनशील रहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । मदरसा शिक्षालाई मूल प्रवाहीकरणमा ल्याउन आफूले नगरबाट हुन सक्ने हरेक किसिमको सहयोग गर्ने नगरप्रमुख अधिकारीले प्रतिबद्धता जाहेर गर्नुभयो ।

वार्षिकोत्सव कार्यक्रममा मदरसामा अध्ययनरत बालबालिकाहरुले विविध विधामा आफ्नो कला प्रस्तुति देखाएका थिए । कार्यक्रममा मौलाना मोल्वीहरुले मदरसा शिक्षाको बारेमा आ–आप्mना धारणा राखेका थिए । कार्यक्रमको अवसरमा त्यहाँ आयोजित नेपाली, उर्दू, अग्रेजी भाषाका विविध विधाको प्रतियोगितामा ८५ जना मुस्लिम बालबालिकाहरुले भाग लिएका थिए ।

कार्यक्रममा सन्जिवनी सामुदायिक अस्पातालका अध्यक्ष टोपलाल पोखरेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, मोलाना सइद अख्तर, डा. साइद अहमद, मोलाना अब्दुल अजीज लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।