सानो मनको गीतमा बलिउड कोरियोग्राफरको कोरियोग्राफी


सुटिङ फ्लोरमा रहेको फिल्म सानो मनको एउटा गीत बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन्।

रोमन बज्राचार्य, सुयोग गुरुङ र सीमा राईद्वारा स्वरबद्ध रानु कम्मर बोलको पार्टी गीतमा फिल्मका मुख्य कलाकारद्वय आयुषमान देशराज जोशी र शिल्पा मास्केलाई उनले नृत्य गराएका छन्। साजन बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर हुन्। साजनले बलिउडका चर्चित फिल्म एबीसीडी र एबीसीडी–२ मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए। उनले डान्स इन्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए।

‘रानु कम्मरको भिडियो आर्थिक हिसाबले जति महँगो हुन पुगेको छ त्योभन्दा बढी क्वालिटीमा समेत देख्न पाइनेछ।’ –फिल्मका निर्देशक सुयोग गुरुङको दाबी छ।

म्युजिकल लभस्टोरी भनिएको फिल्म काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने उनले बताए। ओपीजी फिल्म्स् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धरद्वारा निर्माणाधीन फिल्ममा गौरी मल्ल, विशाल पहाडी, शिशिर वाङ्देल, रश्मी भट्टलगायतका कलाकारले पनि अभिनय गरिरहेका छन्। समीर सुनवार र निर्देशक गुरुङको लेखनमा निर्माणाधीन फिल्मको छायांकन आलोक शुक्लाले गरिरहेका छन्।