सय हलमा लभ स्टेसन


लिली बिली जोडी प्रदीप खड्का र जसिता गुरुङद्वारा अभिनित प्रतिक्षित फिल्म लभ स्टेसन आज शुक्रबार मुलुकका एक सय हलबाट एकसाथ रिलिज हुने भएको छ।

कुशल अभिनेता तथा निर्माता निर्देशक उज्वल घिमिरेद्वारा निर्देशित फिल्म प्रेमकथामा आधारित छ। प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरू विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानालगायतले अभिनय गरेको फिल्म निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका छन्।

काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीको निर्माण तथा गोविन्द शाहीको प्रस्तुतिमा बनेको फिल्ममा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, आलोक शुक्लाको छायांकन, लोकेश बज्राचार्य र अर्जुन जीसीको सम्पादन र एलिश कार्कीको पाश्र्व संगीत रहेको छ। फिल्मको ट्रेलर र गीत–संगीत दर्शकले रुचाएका छन्। यो फिल्मलाई दर्शकका साथ नेपाली फिल्म क्षेत्रले पनि प्रतीक्षाको फिल्मका रूपमा लिएका छन्।

यसै बीच लभ स्टेसन टिमले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५० हजार रुपियाँ सहयोग गरेको छ। फिल्मको निर्माण संस्थाले थप फिल्मको मुनाफाको ५ प्रतिशत रकम रंगशालालाई दिने घोषणासमेत गरेको छ।