नास्टले स्वीकृत गर्यो बजेट र कार्यक्रम


काठमाडौं, (नेस)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले चालु आर्थिक वर्ष २०७५र७६को नीति तथा कार्यक्रम पारित गर्दै ३० करोड हाराहारीको बजेट स्वीकृत गरेको छ ।

मंगलबारको ४२ औं प्राज्ञ बैठकले वार्षिक प्रगति प्रतिवेदन पारित गर्दै विभिन्न विधामा प्रदान गरिने पुरस्कार पनि स्वीकृत गरेको छ । प्राज्ञ सभामा ४६ जना सदस्य रहने प्रावधान छ ।

प्रधानमन्त्री एवं नास्ट कूलपति बैठकको अध्यक्ष रहने प्रावधान छ भने शिक्षामन्त्री सह–कूलपति एवं बैठकको उपाध्यक्ष रहने व्यवस्था छ । नास्टको वार्षिकोत्सवका अवसरमा गत मंसिरमा प्रदान गरिनुपर्ने पुरस्कार यस वर्ष उपकूलपति नियुक्त लम्बिँदा प्रदान गरिएको थिएन ।

करिव ५ महिना कार्यकारी प्रमुख विहिन हुँदा लामो समयदेखि प्राज्ञ सभाको बैठक बस्न सकेको थिएन भने अन्य कार्यक्रम पनि प्रभावित भएका थिए । तर अब त्यस्तो गतिरोध अन्त्य भएको र आगामी बैशाखभित्र १० विधाका पुरस्कार प्रदान गरिने बताउँदै उपकूलपति सुनिलबाबु श्रेष्ठले भन्नुभयो–‘विज्ञानका खोज आविष्कारलाई सरलीकृत गर्न हामी केन्द्रित हुँदैछौ ।’

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नास्ट प्रतिवेदन केन्द्रित मात्र नभई विज्ञानलाई जनताको जिवनस्तरसँग जोड्न निर्देशन दिनुभयो ।