भवन निर्माण ढिलासुस्तीमा काँङ्ग्रेसको चासो


उत्तम नेपाल, भद्रपुर ।
बहुवर्षे आयोजना अन्र्तगत झापाको भद्रपुरमा निर्माणाधिन अवस्थामा रहेका दुइवटा भवन ढिलासुस्ती भएको भन्दै नेपाली काँङ्ग्रेसले चासो देखाएको छ ।

आयोजना अन्र्तगत २१ करोडको लागतमा भद्रपुर स्थित मेची अञ्चल अस्पताल भवन र ११ करोडको गिरिजाप्रसाद स्मृति भवन निर्माणमा भइरहेको ढिलासुस्ती बारे नेपाली काँङ्ग्रेस झापा क्षेत्र नम्बर ३ ले चासो राख्दै स्थलगत अनुगन गरेको हो ।

क्षेत्रीय सभापति गणेश पोखरेल तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको नेतृत्वमा दुइ भवनमा गएको टोलीले स्थलगत अनुगमन गर्दै बाँकी ४० प्रतिशत हाराहारीमा काम अड्कीएको जानकारी पाएका थिए । निर्माणका चरणमा रहेका दुवै योजनाका काम सरकारले सम्झौता बमोजिम रकम भुक्तानी नगरेपछि अड्कीएको निर्माण व्यवसायी सञ्जीव शाहाले बताए ।

गत असारबाट कुनै पनि भुक्तानी नआएपछि काम रोकिएको उनको भनाइ छ । पछिल्लो पटक निकासा आउँछ भन्ने जानकारी आएकोले अव काम सुचारु गरिने उनको भनाइ छ ।

अनुगमन पश्चात टोलीले मेची अञ्चल असपतालका मेडिकल सुपरिटेण्ड डा. पिताम्वर ठाकुरसित अस्पताल भवन तथा प्रशासनिक कठिनाइ बारे छलफल चलाएको थियो । डा. ठाकुरले अस्पताल तथा भवन निर्माण बारेमा जानकारी गराउँदै वजेट कटौटीले अस्पतालको सेवा सेवाग्राही मैत्री बनाउन कठिन परेको गुनासो गरे ।

२२ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा १२ जनाले सेवा दिनु पर्ने बाध्यता उनले सुनाए । जीर्ण भवन, अपुग रकम र उपकरण मर्मत संहारको व्यवस्थापन गर्न विगतदेखि दिइदै आएको वजेट काटिएपछि अस्पताल सङ्कटमा धकेलिएको प्रष्ट पारे । डा.ठाकुरका अनुसार विद्युत बक्यौता बढ्दै गइरहेको, वार्षिक कर्मचारीको तलव वापत ७५ लाख अपुग भएको, शीर्षक अनुसार वजेट नपठाएको कारण गरिब, अशक्त तथा विपन्न वर्गको निःशुल्क उपचार प्रभावित बनेको तर्क गरे ।

निर्माणाधिन अस्पताल भवनको काम पनि रकम निकासा अड्किएर सुस्त भएको जानकारी दिए । उनले भवन अनुगमनको जिम्मेवारी पाएको शहरी विकासका प्राविधिकले स्थलगत अनुगमन नगरेका कारण भइरहेको कामको गुणस्तरमाथि प्रश्न उठ्ने ठाउँ रहेको जनाए । सवै समस्या प्रदेश सरकारलाई अवगत गराइए पनि प्रतिकृया नपाइएको स्पष्ट पारेका थिए ।

अञ्चल अस्पताल र गिरिजाप्रसाद स्मृति भवन निर्माणमा देखिएका समस्या हल गर्न प्रदेश सरकार मार्फत खवरदारी गर्ने सांसद ओमप्रकाश सरावगीले प्रतिबद्धता जनाएका छन् । उनले विगतको सरकारका पालामा आएका योजना भनेर वर्तमान सरकार पन्सनु नहुने तर्क गर्दै भद्रपुरको समृद्धिको सपना बोकेका यी दुवै संरचना निर्माण हुनु पर्नेमा जोड दिएका छन् ।

अनुगमनमा भद्रपुर ५ का अध्यक्ष बन्धु कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, नेपाली काँङ्ग्रेसका जिल्ला सदस्य विजय रिजाल, लता कार्की लगायतको टोली रहेको थियो । यस अघि माघ १४ गते नेपाली काँङ्ग्रेस झापा क्षेत्र नम्बर ३ ले बहु वर्षे योजनाका काम रोकिएको भन्दै सिघ्र सुचारु गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।