जन्मोत्सवको खर्च हावाहुरी पीडितलाई


राजविराज, सप्तरीको राजविराज नगरपालिका–३ की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बारा–पर्साका हावाहुरी प्रभावित पीडितलाई दिनु भएको छ ।

जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट रकम जम्मा गर्ने आराध्याका बुबा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनले जानकारी दिनुभयो ।

आराध्याको जन्म दिनको अवसरमा खर्च हुने अनुमानित रु २१ हजार जन्मदिनका दिन आज मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने नेता सुमनले बताउनुभयो । आराध्याले नै यसपटक जन्म दिन नमनाउने बताउँदै सो खर्च हावाहुरी पीडित परिवारलाई दिएर सामाजिक काममा लगाउने उहाँले बताउनुभयो ।

आइतबार साँझ आएको विनाशकारी आँधीबाट घाइते भएका र मृत्यु भएका परिवारलाई सहयोग हुने उद्देश्यले सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
रासस