हिन्दुराष्ट्रका लागि हेटौंडाबाट नागरिक हस्ताक्षर अभियान


हेटौंडा,(नेस) ।
हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हेटौंडाबाट नागरिक हस्ताक्षर अभियान थालेको छ ।
हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको पार्टीका अध्यक्ष कमल थापाले आइतबार हस्ताक्षर गरी अभियान थाल्नुभएको हो । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

हस्ताक्षरपछि केन्द्रीय अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थिरतातर्फ लैजान नसकेको चर्चा गर्दै संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने नेपाली सँस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नु आवश्यक रहेको बताउनुभयो । सरकारले यी माग अविलम्ब सम्बोधन गरी मुलुकलाई सही दिशातर्फ लैजानुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो ।

‘विप्लव नेतृत्वको माओवादी समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको विषयमा आमजनतामा चिन्ता र चासो बढेको छ,’ अध्यक्ष थापाले भन्नुभयो–दश वर्षसम्म हिंसात्मक सशस्त्र विद्रोहको त्रासदि भोगेका नेपालीमा देखिएको चासो र चिन्ता स्वभाविक छ ।

उहाँले तत्कालिन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउने नाममा राष्ट्रले धेरै ठूलो मूल्य चुकाउनु परेको सर्वविदित रहेको भन्दै आर्थिकरुपमा मात्र नभएर उक्त प्रक्रियामा नेपालको सामाजिक, साँस्कृतिक र राजनीतिक क्षेत्रमा व्यापक र दुरगामी प्रभाव परेको स्मरण गर्नुभयो ।

‘अहिले शान्ति प्रक्रिया टुंगिन लागेको बेलामा बाह्र वर्षपछि फेरि किन नयाँरुपमा माओवादी विद्रोहको पुनरावृत्ति हुँदैछ ?,’ प्रश्न गर्दै उहाँले अर्को प्रश्न गर्नुभयो–माओवादीलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउने नाममा हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, राजसंस्थालाई पाखा लगाइयो, नेपाली जनतालाई जातीय आधारमा विभाजन गरियो, विवादास्पदरुपमा संघीयता कार्यान्वयन गरियो भने अहिले फेरि किन माओवादी विद्रोह देखापर्दैछ ? यस प्रश्नको गम्भीरतासाथ समिक्षा गर्नुपर्दछ र त्रुटि सच्याउने साहस गर्नुपर्दछ ।

उहाँले माओवादीले हिंसा परित्याग गर्नुपर्ने औंल्याउँदै हिंसा र आतंकबाट राजनीतिक परिवर्तन र कुनै समस्याको समाधान हुन नसक्ने भएकोले सरकारले प्रतिबन्ध वा दमन होइन, वार्ता र सहमतिबाट समस्याको निकास खोज्नुपर्ने बताउनुभयो

पार्टी केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले संसदीय अंकगणितमा बलियो देखिए पनि केपी ओली नेतृत्वको नेतृत्वको सरकार असफल प्रमाणित भइसकेको दाबी गर्नुभयो । उहाँले आमजनतालाई परिवर्तनको अनुभूति वर्तमान सरकारले दिन नसकेको निष्कर्ष निकाल्नुभयो ।
‘२०६३ सालदेखि गठित पूर्ववर्ती सरकारभन्दा पनि ओली नेतृत्वको सरकार अग्रगामी काम गर्न सकेन,’ पार्टी जिल्ला अध्यक्ष मधु अधिकारीले भन्नुभयो–मुलुकमा एक दशकदेखि उत्पन्न विद्यमान विकृति, विसंगति र अनियमिततालगायत असफलतालाई यो सरकारले व्यापक बनाएको छ ।

चैत १५ गतेबाट सुरु पहिलो चरणको आन्दोलन वैशाख ८ गते सकिनेछ । १६ गतेसम्म प्रचारप्रसार गरेको पार्टीले आइतबारदेखि २३ गतेसम्म देशव्यापी हस्ताक्षर संकलन अभियान राखेको छ ।

पहिलो चरणको संघर्ष सकिएलगत्तै संघर्षको उचाईं र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपा अध्यक्ष थापाले जनाउनुभयो । यसबीच मागहरु पूरा गर्नेबारे सरकार सकारात्मकरुपमा प्रस्तुत भए सरकारसँग वार्ताको ढोका सदैंव खुला राखिने उहाँले बताउनुभयो ।