आकाशे पानीको भरबाट मुक्त हुने भयो भोक्सिङ


नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको एक विकट महाशिला गाउँपालिका–२ भोक्सिङमा वृहत लिफ्ट खानेपानी आयोजनाको काम शुरु भएको छ ।

खानेपानीको चरम समस्या भोग्दै आएका भोक्सिङका बासिन्दालाई खानेपानीको सुविधा पु¥याउन काउलेखोला लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य शुरु भएको हो ।

उक्त खानेपानी आयोजना सञ्चालन भएपछि स्थानीय बासिन्दाले बर्खाको पानी घैँटामा संकलन गरि खानुपर्ने बाध्यता हट्ने भएको छ । ‘अहिलेसम्म आकाशेपानीको भर छ,’ स्थानीय बखानसिँह गुरुङले भने,‘ खानेपानी आयोजना आउने खबरले हामी हर्षित छौँ ।’ उनले खानेपानी आयोजनाले स्थानीय ४० घरपरिवार लाभान्वित हुने बताए ।

आगामी असार भित्र काम सक्ने गरि लिफ्ट खानेपानी आयोजना निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । आयोजनाको कुल लागत ६२ लाख रुपैयाँ रहेको छ । सबै घरधुरीमा एक घर एक धारा पु¥याउने गरि आयोजनाको काम शुरु भएको पौडेलले बताए । ‘ हिउँदका ६ महिना यहाँ खानेपानीको हाहाकार हुन्छ,’ पौडेलले भने,‘ अव चाँडै एक घर एक धारा पु¥याउने लक्ष्य छ ।’ आयोजना शुरु भएपछि गाउँले खुशी भएको उनले बताए ।

यसअघि स्थानीय बासिन्दाले पानीको अभावमा वर्खाको पानी सिमेण्टको टंकीमा संकलन गरि पिउँदै आएका थिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले उक्त आयोजना निर्माणका लागि वजेट बिनियोजन गरेको हो । कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार २३० मिटर तलको मुहानबाट १५ हर्ज पावरको पम्पबाट पानी तानेर बितरण गरिनेछ । सोलार प्रविधिबाट पानी तान्ने योजना छ ।

मुलबाट गाउँ सम्म पानी तान्न २०/२० घनमिटरका दुईवटा टंकी निर्माण गरिने छ । अर्को ४० घनमिटरको टंकीमा संकलन हुने पानी सबै घरमा समानान्तर किसिमले वितरण गर्ने स्टिमेट रहेको डोटेलले बताए । खानेपानीको समस्याका कारण स्थानीय गृहणी महिलाहरुलाई सबैभन्दा बढि पीडित छन् । ‘खानेपानीको सपना पुरा हुने कुराले साह्रै खुशी लागेको छ,’स्थानीय ललिता गुरुङले भनिन्,‘अव सबेरै उठेर पानीको धारामा लाईन लाग्नुपर्दैन ।’