बन डँडेलो जोगाउन सक्रियता


काभ्रे, (नेस)।
डिभिजन बन कार्यालय काभ्रेले बन डँडेलो ब्यवस्थापन सम्वन्धी गोष्ठी मार्फत बने डँडेलो जोगाउन सक्रियता शुरु गरेको छ ।

हिउँदयामसँगै चैत्र र बैशाखको हावाहुरीले बन डँडेलो लाग्न सक्ने भन्दै बन कार्यालयले सरोकारवालाहरुलाई सजग रहन अपिल गरेको छ । ‘माईकिङ्ग, पोस्टरिङ्ग, सामाजिक सञ्जाल तथा संचारमाध्यमहरु मार्फत समेत बन डँडेलो जोगाउन अपिल गरिएको छ’–डिभिजन बन अधिकृत बद्रिकुमार कार्कीले भने ।

जिल्लामा विगत तीन वर्ष देखि भईरहेको बन डडेलोको अवस्था, रोकथामका उपाय, भईरहेका प्रयासका बारेमा डिभिजन बन अधिकृत बद्रिबहादुर कार्कीले जानकारी गराएका थिए । २०७३ सालमा ७२ वटा सामुदायिक बन तथा राष्ट्रिय बन समेत गरी १२ सय ७८ हेक्टर सामुदायिक बनमा आगलागी भएको थियो भने २०७४ सालमा जिल्लामा ठुलो आगजनी भएन ।

आर्थिक वर्ष २०७५/२०७६ को चैत्र महिनाको मध्यसम्ममा जिल्लाका ८ स्थानमा आगलागी भईसकेको छ । आगलागी हुनै नदिन र आगलागी भईसके पछिको ब्यवस्थापनका लागि स्थानीय सरकार सचेत हुनु पर्ने सहभागिहरुले बताए ।

समन्वय गोष्ठी जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रममा धुलिखेल नगरपालिकाले विपद् ब्यवस्थापनका लागि १० लाखको कोष खडा गरिसकेको र सबै वडाहरुमा विपद् ब्यवस्थापन समिति गठन गरेको वातावरण शाखा प्रमुख श्रीविक्रम ब्याञ्जुले बताए ।

नमोबुद्ध नगरपालिका, खानिखोला, भुम्लु गाउँपालिका लगायतमा पनि बन डँडेलोलाई विपदमै राखेर नियन्त्रण र ब्यवस्थापनको कार्य भईरहेको बताए । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक बन उपभोक्ता महासंघका प्रदेश नम्वर ३ का अध्यक्ष विनोद सापकोटा, वडा अध्यक्षहरु लगायतले बन डँडेलो नियन्त्रणमा जनचेतना आवश्यक रहेको बताएका थिए ।

डिभिजन बन कार्यालयले आगलागी हुन नदिन विभिन्न कार्यक्रम संचालन गरिरहेको डिभिजन बन अधिकृत बद्रिबहादुर कार्कीले बताए ।