सानो संसार, लुट र छक्का पन्जा–३ देखाइँदै


नेपाल चलचित्र संघले आगामी बिहीबार आ–आफ्नो समयका ३ भिन्दा भिन्दै सुपरहिट चलचित्र प्रदर्शन गर्दै चलचित्र उत्सव गर्ने भएको छ।

संघले कमलपोखरीस्थित क्यूएफएक्स कुमारी हलमा सानो संसार, लुट र छक्का पन्जा प्रदर्शन गर्न लागेको हो। सानो संसारले आफ्नो समयमा दर्शकको मन जितेको थियो। स्व. आलोक नेम्वाङद्वारा निर्देशित सानो संसारमा नीर शाह, कर्मा शाक्य, नम्रता श्रेष्ठ, जीवन लुइँटेल, विनय श्रेष्ठलगायतले अभिनय गरेका छन्।

त्यसै गरी अर्को फिल्म लुटले नेपाली सिनेमा निर्माण शैलीको धार नै परिवर्तन गरेको थियो। निश्चल बस्नेतद्वारा निर्देशित लुटमा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मालगायतले अभिनय गरेका छन्। अर्को फिल्म छक्का पन्जा सिरिजले नेपाली सिनेबजारमा अहिले चलिरहेको कमेडी फिल्मको बहार ल्याएको थियो।

यो फिल्मको हालसम्म ३ सिरिज बजारमा आइसकेको छ। अहिले पुनः प्रदर्शन गर्न लागिएको छक्का पन्जा–३ हो। अभिनेतृ दीपाश्री निरौलाद्वारा अभिनित छक्का पन्जा–३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, शिवहरि पौडेल, बुद्धि तामाङलगायतले अभिनय गरेका छन्। संघका अध्यक्ष प्रदीपकुमार उदयले नेपाली फिल्मको बजार प्रवद्र्वनका लागि एक दिवसीय चलचित्र उत्सव आयोजना गर्न लागेको बताएका छन्।